मकवानपुर । विश्वकप क्रिकेटको छनोटका १ दिवसीय खेलहरु असार ३ गतेदेखि हुने भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेको नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।
प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।
नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् । अमेरिका प्लेअफबाट छानिएको टिम हो ।