मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म पानी महशुल विलिङ रकमबाट ९७.२६ प्रतिशत रकम उठाउन सफल भएको छ ।
बोर्डले ९ करोड ८० लाख ९२ हजार मध्येमा ९ करोड ५४ लाख ११ हजार बिलिड्ड उठाउन सफल भएको हो । उपभोक्तालाई पानी वितरणको लागि बोर्डले उपभोक्तासंगको सहकार्यमा २६ लाख ४२ हजार ५०४ बराबरको २२ हजार ३३६ मिटर पाइप लाइन विस्तार गरिएको छ । बोर्डको सेवा क्षेत्र भित्र ४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ हजार ८६ मिटर जिर्ण पाइप परिवर्तन गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले बताए ।
बोर्डको सेवा क्षेत्रभन्दा बाहिर हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा २८ लाख ३६ हजार ४५४ रुपैयाँ बराबरको ५१ हजार ९२० मिटर पाइप उपलब्ध गराइएको छ । हाल बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं २,४,५,६,७, ८,९,१० गरी ८ वटा वडाको सबै भु-भाग र वडा नं. १, १४, १५, १६, १७, १८ र १९ का केही भु—भागहरुमा बसोबास गर्ने करिब १ लाख ५५ हजार नगर बासीहरुलाई दैनिक १ करोड ८८ लाख लिटर पानी उत्पादन गर्दै आएको छ । करिब २३ हजार ५ सय धाराहरुबाट सरदर दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको निमित्त कार्यकारी निर्देशक सापकोटाले बताए ।
हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई राहत दिने उद्देश्यले २०७९ साल भदौ महिनादेखि न्यूनतम खानेपानी महशुलमा १० हजार लिटर पानीका छुटको व्यवस्था गरेसंगै खानेपानी बोर्डमा उपभोक्ता समितिहरु हस्तान्तरण हुने क्रमले तिब्रता पाएको छ । हालसम्म बोर्डमा हेटौंडा वडा नंं. १० मा अवस्थित न्युरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हेटौंडा १८ हर्नामाडीको हर्नामाडी डिप बोरिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौंडा वडा नं. ६ को कल्याणटार खड्कुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा आबद्ध भईसकेका छन् ।
बोर्डबाट उठाउन बाँकी पानी महशुल रकम ४६ लाख रहेको लेखा प्रमुख संजय न्यौपानेले बताए । चालु आवमा हेटौंडा उपमहानगरपालिकाले खानेपानीको पाइप खरिदको लागि ८३ लाख ८७ हजार उपलब्ध गराएको न्यौपानेले बताए ।

यसैबिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दशौं वार्षिकोत्सवको विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मेयर मिनाकुमारी लामाले जनतालाई स्वच्छ पानी पिउने अधिकारको सम्मानमा सधै लागि परेको बताइन् ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय सचिव, हेटौंडा उपमहानगरपालिकाका २ जना सहित १४ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । वार्षिक उत्सव विशेष कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले सन् २०३० सम्म सबकौ लागि प्रर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन बोर्ड योजनाबद्ध ढंगले अघि बढीरहेको बताए ।
