मकवानपुर । दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिताकाे दोस्राे संस्करणको जेठ ७ गते आइतबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेसंगै प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, प्रदेशका जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शनी, ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजी सहित सांङ्गीतिक प्रस्तुती भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएकाे प्रतियोगितामा १३ खेल समावेश गरिएकाे छ भने २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कास्य गरी ७ सय ९४ पदका लागि प्रतिस्पर्धा हुने बताइएकाे छ । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ भने महिला फुटबल हेटौडाकाे गौरीटार रंगशालामा हुनेछ । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आईटीटीफ र तेक्वान्दोको खेल हुनेछ ।
त्यस्तै बक्सिङ्ग महिला र पुरुष खेल हेटौंडा–४ स्थित कर्भड हलमा हुनेछ भने व्याटमिन्टन महिला र पुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा हुनेछ । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा हुने तय भएको भएको सदस्य सचिव भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा १ हजार ७५ महिला र १ हजार ४ सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै १ सय ७३ प्रशिक्षक, १ सय ४२ व्यवस्थापक, २ सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
दोस्राे संस्करणकाे प्रतियोगिता जेठ १३ गते शनिबार समापन हुने कार्यतालिका रहेकाे छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बामगती प्रदेश खेलकुद बिकास परिषदले देशमै पहिलो पटक प्रदेश स्तरको खेलकुद प्रतियोगिता गत बर्ष आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा गत वर्ष ८ वटा विधामा खेल खेलाइएको मा दोस्रो संस्करणमा ५ खेल थप गर्दै १३ बिधामा प्रतियोगिता हुने भएको हो ।
प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेश समुह तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता सुरु गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
यस्तै दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको मस्कटको रुपमा लोपन्मुख सालकलाई प्रयोग गरिएको छ । मकवानपुरको शानको रुपमा मान्ने गरिएको सालकलाई मस्कटको रुपमा प्रयोग गरिएको हो ।
‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद कार्यालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
