प्रा.डा. कपिल लामिछाने एक विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ। पोखरा महानगरपालिका-२८, माझठाना, कास्कीमा २०१५ सालमा पिता शुकदेव र माता सुकुमायाका सुपुत्रका रुपमा जन्मेका लामिछाने २०४१ देखि नै प्राध्यापन, साहित्य सिर्जना र लेखनको मूल थलो पनि भैरहवालाई बनाउनुभएको छ ।
त्रि.वि.बाट नेपाली विषयमा स्नातकोत्तर (प्रथम श्रेणीमा प्रथम) र गाउँखाने कथामा विद्यावारिधि गर्नुभएको लामिछानेले लामो समयदेखि साहित्यिक, शैक्षिक र प्राज्ञिक नेतृत्व लिई आउनुभएको छ। विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक संघसंस्थामा आबद्ध लामिछाने २०७५-२०७९ मा प्रज्ञा सभासदस्य पनि हुनुभएको हो। अहिले उहाँ नेपाल बालसाहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ।
उहाँका २०३४ देखि कविता, २०४१ देखि एकाङ्की, २०४२ देखि समालोचना र कथा, २०४४ देखि लघुकथा र २०४५ देखि बालकथा प्रकाशित हुँदै आएका छन्। सिर्जना, समालोचना, अनुसन्धान र सम्पादन गरी अहिलेसम्म उहाँका करिब साठीभन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन्। उहाँले नेपाली गाउँखाने कथा, नेपाली बौद्ध साहित्य, मुस्लिम संस्कारगीत, नेपाली कथामा कृषिजीवन, नेपाली साहित्यमा शकुन्तलोपाख्यान आदि विषयमा अनुसन्धान गर्नुभएको छ। अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साइ (२०६८), विस्थापन (२०७५) र अणिमा (२०७९) गरी उहाँका पाँच लघुकथासङ्ग्रह प्रकाशित भएका छन्।
नेपाली लघुकथाको सिर्जना, समालोचना, प्रशिक्षण र सिद्धान्त स्थिरीकरणमा लामिछानेको अहम् भूमिका छ।
साहित्य सिर्जनामा लामिछानेको विशेष योगदान छ भने लोकसाहित्य र त्यसमा पनि गाउँखाने कथाको स्थलगत सङ्कलन र अध्ययन तथा लोकगाथा, लोकगीत र लोककथाको अध्ययनमा उहाँको योगदान उल्लेख्य रहेको छ। मोफसलमा रहेर निष्काम प्राज्ञिक कार्य गरेवापत उहाँले चार दर्जनभन्दा बढी पदक, पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ।
हाल लामिछाने लघुकथामा विशेष सक्रिय छन । प्रस्तुत छ, लघुकथा कै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले लामिछानेसंग गर्नु भएको कुराकानी ।
लघुकथा लेखनमा यहाँको यात्रा कस्तो रहेको छ?
– मैले २०४४ देखि लघुकथा लेख्न थालेको हुँ। पहिलो प्रकाशित लघुकथा हो, ‘कुप्राहरुको देश’ । यो २०४४ को अणु भन्ने पत्रिकामा छापिएको छ। त्यसपछि २०५४ मा अन्यथा, २०६१ मा जलमानव, २०६८ मा बोन्साइ, २०७५ मा विस्थापन र हालै २०७९ मा अणिमा गरी पाँच लघुकथासङ्ग्रह प्रकाशित भएका छन्। अब छैठौँ सङ्ग्रहको तयारी गर्दै छु। नेपाली लघुकथाको सिर्जना, समालोचना, प्रशिक्षण र सिद्धान्त स्थिरीकरणमा मेरो योगदान र मेरा लघुकथागत प्रवृत्तिका बारेमा त अग्रज र अनुजहरूले मूल्याङ्कन गर्नुहुने नै छ।
यहाँ त पोखराको हुनुहुन्छ । पोखरामा लघुकथाको अवस्था के कस्तो रहेको पाउनु भएको छ ?
– पोखरा देशको दोस्रो राजधानीजस्तै हो। कविता, काव्य, मुक्तक, गीत, गजल, कथा र उपन्यासका अगाडि लघुकथा लघु पो भयो कि जस्तो लागेको छ। हाल (२०८० वैशाख) सम्ममा कास्की पोखराका रामबहादुर बानिंया, राजु क्षत्री अपुरो, कल्याण पन्त, भास्कर (भवानीप्रसाद पाण्डे), कपिल लामिछाने ,अल्पबिराम पोख्रेली र शुभ शर्माका लघुकथा सङ्ग्रहका रूपमा प्रकाशित भएका छन्। यो सङ्ख्या निकै कम हो। फाट्टफुट्ट वा फुटकर लेख्नेहरू भने दर्जनौँ छन् । यसबाट लघुकथामा पोखरालाई समृद्ध पार्न अझै धेरै गर्न बाँकी देखिन्छ ।
नेपालमा लघुकथाको प्रभावकारिता कस्तो छ?
– नेपालमा लघुकथाको निकै राम्रो प्रभाव छ । प्रभाव बढ्दो अवस्थामा पनि छ। दिनहुँ लेखिन्छ, पोस्ट गरिन्छ, छापिन्छ, वाचन गरिन्छ र पढिन्छ, सुनिन्छ । सामाजिक स़ञ्जालमा लाइभ र भिडियो वाचन पनि गरिन्छ र सुनिन्छ अनि हेरिन्छ । पाठक र श्रोताले चाहेका र रुचाएकाले नै यस्ता क्रियाकलाप हुँदैआएका छन्। यसबाट लघुकथाको उपयोगिता र प्रभावकारिताको आँकलन गर्न सकिन्छ ।
हाम्रो लघुकथा पाठशाला पेजले लघुकथा केन्द्रको नामबाट आधिकारिक मान्यता पाएको छ। हाम्रा गतिविधिलाई यहाँले कसरी नियालिरहनु भएको छ?
– सामाजिक सञ्जाल हाम्रो लघुकथा पाठशाला पेज हाम्रो लघुकथा केन्द्रको नामबाट २०८० वैशाख १३ गते आधिकारिक रूपमा दर्ता भएकोमा मलाई खुसी लागेको छ। सोही दिन मैले बधाई र शुभकामना दिएको हुँ । विगतदेखि अनौपचारिक रूपमा लघुकथा सम्बन्धी क्रियाकलाप गर्दै आएकोमा अबदेखि यसले गर्ने लघुकथा सम्बन्धी क्रियाकलाप औपचारिक हुन्छन्। यसले सहयोग लिनदिन सहज हुनसक्छ।
म प्रायः भैरहवा लुम्बिनीमा रहेर यसका क्रियाकलाप र गतिविधि हेर्छु, सुन्छु। यसमा आबद्ध स्वयंसेवी एड्मिनहरुको लगन, सक्रियता, जाँगर र तन्मयता देखेर म छक्क पर्छु। यही काम सरकारले गर्ने गराउने हो भने मासिक करोडौँले पनि सम्भव देखिन्न। यस्ता स्वयंसेवी मनहरूलाई म धेरैधेरै साधुवाद भन्न चाहन्छु।
हामीले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी भए यहाँको अमूल्य सुझावको अपेक्षासमेत राखेका छौँ। केही सुझाव दिन चाहानु हुन्छ कि ?
– त्यसो त केही पनि पूर्ण छैन। कसर त रहिरहन्छ। घोडा चढ्ने नै त हो लड्ने। हाम्रो लघुकथा गानमा भनेजस्तै धेरै गरियो अझ धेरै गर्न बाँकी नै छ। हाम्रो लघुकथा पाठशाला पहिले पेजमात्र थियो। दर्ता भएर अब संस्था भयो। केही काम अगाडि बढेको छ। अब यसले बाँकी कामलाई अघि बढाउने नै छ। लघुकथा पुरस्कार कम छन्, अरु स्थापना गरौँ। लघुकथाकार कोश त आएको छ। लघुकथा कोश बनाउन बाँकी नै छ। लघुकथा प्रधान एउटा पत्रिका छैन। एउटा मासिक पत्रिका निकालौँ। लघुकथा समालोचना कम छन्। त्यसमा जोड दिऊँ। समालोचकलाई पनि विशेष रुपले सम्मान गर्ने परिपाटी बसालौं ।
अहिले सामाजिक सञ्जालमा लेख्ने धेरै पढ्ने कम भइरहेको अवस्थामा पाठकलाई आकर्षित गर्न के के गर्नु पर्ला?
– पाठकको मनोविज्ञान बुझेर काम गरौँ। पाठक उत्कृष्ट र मानक लघुकथा पढ्न आतुर छ। लेखक कनीकुथी झ्यापझुप लेखेर आफैँ एकपटक पनि नपढी पोस्ट गर्न आतुर छन्। साहित्य साधनाको विषय हो। यो तातै खाने चिज होइन। यसको माध्यम भाषा हो। सम्बन्धित भाषामा सामान्य वाक्य बनाउन आउन्न। उसैलाई वरिष्ठ हुनुपरेको छ। अनि त्यस्तो लेखाइबाट कसरी पाठक आकर्षित हुने? म त यसका लागि प्रशिक्षण र अभ्यास आवश्यक देख्छु। यतिका कार्य गरिरहनु भएको छ।अब त्यतातर्फ पनि ध्यान दिनु हुनेछ भन्ने लागेको छ र अन्तमा मेरो छोटो भलाकुसारी पाठक सामु पुर्याउन पहल गर्नु भएकोमा हार्दिक धन्यवाद ।

लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरी संसोधन सहित प्रकाशित गरेका हौं । सम्पादक