मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्तरगत टोलस्तरमा गठित बालसमूहहरूलाई खेल सामग्री वितरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा न ५ भित्र गठित १६ वटा टोलस्तरीय बाल समूहहरूलाई पालिका सन्चार प्रा.लिले खेल सामग्री वितरण गरेको हो । हेटौंडा ५ वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार खेल सामग्री बितरण गरिएको हो । बाल क्लबका अध्यक्ष, सचिब र संरक्षकहरूलाई बाल समूह, बाल अधिकारलगायतको बिषयमा अभिमुखीकरण समेत गराईएको थियो ।

वडा अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा अभिमुखीकरण तथा खेल सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिमिरेले बालबालिकाहरूलाई वितरण गरिएको खेल सामग्रीले खेलप्रतिको लगाब बढाउने र आगामी दिनमा खेलकुदमा सहभागी सङ्ख्या बढाउने बताए । “खेल जीवनको लागि अपरिहार्य पाटो हो, बालबालिकालाई अनुशासित बनाउन यस्ता अवसरहरू महत्त्वपूर्ण हुन्छन्” उनले भने ।
कार्यक्रममा वडा सदस्य तथा बालमैत्री सम्पर्क ब्यक्ति रन्जिता सिलवालले हरेक क्षेत्रमा बालबालिकालाई अग्रसर बनाउन शिक्षासंगै खेलकुदमा पनि अभिभावकत्व आवश्यक भएकोले वडाले यो कार्यालाई सकारात्मक रूपमा लिएको बताइन् ।

बालबालिकाहरूलाई चेस, डोरी, फुटबल, ब्याडमिन्टन, लुडोलगायतको सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वडा सदस्यहरू रामबहादुर राई, बिमला बि. क, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख बिना ठिके, वडास्तरीय टोल विकास संस्थाको अध्यक्ष टीकाबहादुर खड्का, पिप्ले शहरी स्वास्थ केन्द्रको प्रमुख दुर्गा दाहाल, ५ नम्बर वडामा रहेका विभिन्न टोल विकास संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू, बिद्यालयमा गठन बालसमूहका बालबालिका तथा संरक्षक शिक्षकहरू समेतको उपस्तिथि रहेका थियो ।
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको सन्दर्भमा पालिका सन्चार प्रा लि ले बालबालिकाको सवालमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष उज्वल अधिकारीले बताए ।