मकवानपुर । अनलाईनमा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहारलाई रोक्न तथा न्यूनिकरण गर्न बाल संरक्षण सवालबारे सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ ।
आज मकवानपुरको हेटौंडामा आयोजिक कार्यक्रममा सहभागिहरुले अनलाईनमा बालसंरक्षण सवालबारे सरोकारवाला निकायहरुलाई झकझक्याउने उद्देश्यले ११ बुँदे अनुरोध पत्र तयार पारेका छन् । उक्त अनुरोध पत्र सिविन बाल हेल्प लाइनले सामाजिक विकास मन्त्रालय बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकामा बुझाएको छ ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तान र उपमहानगर प्रमुख मिनाकुमारी लामालाई बुझाइएको छ । सिविन नेपालको आयोजनमा अनलाइनमा बालसंरक्षण विषयमा प्रदेशस्तरिय कार्याशाला गोष्ठीमा सहभागीहरुले यस्तो अवधारण प्रस्तुत गरेका हुन् । कार्यक्रममा सिविन काठमाण्डौका परियोजना ब्यवस्थापक माधव लोहनीले सहजीकरण गरेका थिए । मन्त्री मोक्तान तथा नगरप्रमुख लामाले आगामी आवमा उक्त सुझावलाइ समावेश गर्ने प्रतिबद्धता गरेका छन् ।


उक्त अनुरोध पत्र मकवानपुर जिल्लाको १० वटै स्थानीय तहहरुमा प्रदान गरिने सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवलीले बताए ।
यस्ता छन् अनुरोध पत्रले समावेश गरेका बुँदाहरुः
१) इन्टरनेट अनलाइनमा बालबालिकाको संरक्षणसम्बन्धी मुद्धा हेर्ने एकमात्र निकाय साइवर ब्युरो काठमाण्डौमा मात्रै केन्द्रीत रहेकोले यसलाई प्रदेश तहमा पनि विस्तार गरी यसको कार्यसम्पादनलाई ब्यापक बनाउनु पर्दछ । साथै साइवर ब्युरोमा बालसंरक्षणको निम्ति बिशेष युनिटको समेत व्यवस्था गर्नु पर्दछ ।
२) अनलाईन बालसंरक्षणको विषयवस्तुलाई संघसंस्था तथा सरोकारवालाहरुले आफ्ना हरेक कार्यक्रम सञ्चालन गरिने छ ।
३) बाल संरक्षण नीतिमा अनलाइन बाल संरक्षणको सवाल अनिवार्य रुपमा समावेश हुनु पर्नेछ ।
४) तीनै तहको सरकारले बार्षिक बजेट तथा योजना निर्माणमा अनलाइनमा बाल संरक्षण, सकारात्मक अभिभावक शिक्षा सम्बन्धी बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनु पर्ने ।
५) संसदमा विचाराधिन रहेको सूचना प्रविधि विधेयकलाई छलफलमा ल्याइ अनलाइनमा बाल संरक्षण सम्बन्धी व्यवस्था समावेश गरी संसदबाट तुरुन्त पास गरिनुपर्ने ।
६) प्रत्येक स्थानीय तहका बालकल्याण अधिकारीलाई अनलाइनबाट हुने दुव्र्यवहारको बारेमा क्षमता अभिवृद्धि गरी सचेतना तथा कानूनी प्रक्रियामा अभियान चलाउनुका साथै बाल कल्याण अधिकारीलाई तत् सम्बन्धि सूचना स्रोत व्यक्तिको रुपमा व्यवस्थापन गर्नुपर्ने ।
७) इन्टरनेट सेवा प्रदायकहरु (ISPAN) को समन्वयमा अनलाइन शिक्षा र संरक्षण सम्बन्धी कार्यक्रम अभियान कै रुपमा लैजान अनुरोध गर्ने ।
८) अनलाइनमा बाल संरक्षण विषयमा तीनै तहका सरकारले सञ्चारका मध्यमबाट इन्टरनेट अनलाइन सम्बन्धि भिडियो, जिङ्गल तथा डिजिटल सूचनामुलक सामग्रीहरु निर्माण गरी प्रचारप्रसारलाई ब्यापक बनाउनु पर्ने ।
९) नेपाल प्रहरीद्वारा सञ्चालित समुदाय प्रहरी साझेदारी कार्यक्रममा अनलाइनमा बाल संरक्षण विषयलाई समावेश गरिनु पर्ने ।
१०) अनलाइनमार्फत हुने अपराधबाट बच्न विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र पाठ्यक्रममा समावेश गराउन शैक्षिक नीतिमा स्पष्ट पारिनुपर्ने ।
११) इन्टरनेट अनलाइन अपराध मौलाउदै गरेको अवस्थामा बालबालिका, किशोरकिशोरी, युवालाई पर्न गएको मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने ।