मकवानपुर । हेटौंडाको विभिन्न होटलमा बालश्रमिकको रुपमा राखिएका बालबालिकाहरुलाई उद्धारपछि परिवारका तथा आफन्तको जिम्मा लगाइएको छ ।
श्रम कार्यालय हेटौंडा, सिविन बाल हेल्प लाइन, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतको टोलीले अनुगमनको क्रममा गैर कानूनी रुपमा बालबालिकाहरूलाई श्रममा लगाइएको भेटीएपछि २० जेठमा उनीहरुलाई उद्धार गरी सिविन बाल हेल्प लाइन राखिएको थियो ।
बालबालिकाहरूलाई विद्यालय छुटाएर काममा लगाइएको अवस्थाबाट उद्धार गरिएका उनीहरुलाई परिवार तथा आफन्तको जिम्मेवारीमा छोडिएको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ । उद्धार गरिएका ३ बालिका र १ बालक थिए ।
हेटौंडा १० मा रहेको १ डाँफे होटलबाट १५ वर्षीय बालकको उद्धार गरिएको थियो । कैलाश गाउँपालिका वडा नं ८ कालिकाटार घर भएका उनी विगत १० महिनादेखि बाल श्रमिकका रूपमा कार्यरत थिए । स्थानीय विद्यालयमा कक्षा ५ पढेर छाडेका उनलाई होटल संचालक मानमाया थिङले श्रमिकका रूपमा काममा लगाउँदै आएकी थिइन् । सोही होटलमा कार्यरत १५ वर्षीया बालिकाको पनि उद्धार गरिएको थियो ।
यसैगरी हेटौंडा १० बसपार्क मै रहेको धादिङ होटल एण्ड लजबाट ९ वर्षीया बालिकालाई उद्धार गरिएको थियो । उनलाई उनी अध्ययनरत विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारीमा घर पठाइएको सिविनले जनाएको छ ।
धादिङ जिल्ला, रोराङ गाउँपालिका, जरुङ भन्ने ठाउँमा घर भएकी ती बालिका १ महिनादेखि होटलमा श्रमिकका रूपमा कार्यरत थिइन् ।
यसैगरी गण्डकी होटल एण्ड लजबाट उद्धार गरिएकी १५ वर्षीया बालिकालाई परिवारको जिम्मा लगाइएको छ । उनी विगत १ महिनादेखि होटलमा काम गर्दै आएकी थिइन् । कक्षा ४ पढेर छोडेकी थिइन् ।
उद्धार गरिएका बालबालिकाहरुलाई श्रममा लगाइए वापत उनीहरुले पाउने सेवा सुविधाको रकम तिराएर होटल सञ्चालकहरुलाई छोडिएको श्रम कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले बताए । उनीहरुलाई बालबालिकाको उमेर, काम गराइएकाे प्रकृति अनुसार दुईजना व्यवसायिलाई ३/३ हजार र एकजनालाई ७ हजार दण्ड जरीवाना तिराइएको श्रेष्ठले बताए । एकजना बालक १८ वर्ष उमेर पुगेकाेले जरीवाना नलागेकाे बताइएकाे छ । “आइन्दा यसरी बाल श्रमिक नराख्ने सर्तमा छोडिएको छ” श्रेष्ठले भने “ऐन बारे जानकार हुँदाहुँदै अटेरी गरी बालबालिकालाई श्रममा राख्ने परीपाटीले गर्दा समस्या छ, थाहै थिएन भनेर पार पाइएला भनेजस्तो गर्नुहुन्छ, कानुनी कारवाही त हुन्छ नै ।”
पुनस्थापना गरिएका बालबालिकाहरुलाई विद्यालय पठाउने र आवश्यकता हेरेर स्थानीय तह तथा सिविनको समेत सहयोगमा छात्रवृती प्रदान गरिने समेत तयारी भएको बाल हेल्प लाइनका प्रबन्ध झविन्द्र ज्ञवलीले बताए ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहका रूपमा घोषणाको तयारीमा रहेको छ । तर विभिन्न होटल तथा ग्यारेजहरुमा बाल श्रमिक राख्नेहरुमाथि कडा निगरानी गर्न सकिएको छैन । अर्को तिर बाल विवाहमा चुनौती उस्तै छ । बालमैत्री स्थानीय शासनको लागि पुरा हुनुपर्ने न्युनतम सूचकहरुमाथि धेरै काम गर्न बाँकी रहेको सरोकारवालाहरु बताउँछन् ।