मकवानपुर । मकवानपुरका वनकरीया महिलाले ध्यु कुमारी र तितेपातीबाट साबुन बनाएका छन् । उनीहरुले स्थानीय स्तरमा नै पाइने ध्युकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने साबुन बनाएका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रा भन्ने स्थानमा बसोबास गर्दै आएका वनकरीया समुदायको आर्थिक अवस्था नाजुक छ । उनीहरुलाई आय आर्जनमा अघि बढाउनको लागि साबुन उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने हो भने आत्मनिर्भरताको लागि बलियो अवसर प्राप्त हुने वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषीले बताइन् । मञ्चबाट ३ दिनको तालिम लिएपछि यहाँका २५ जना महिलाहरु साबुन उत्पादन सिपमा दक्ष भएका छन् ।
साबुन उत्पादन गर्नको लागि आवश्यक औजारहरु समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चा पदार्थ र बजारीकरण नै हो” सन्तोषीले भनिन् “तितेपाती त पाखा र बगरमा पनि पाइन्छ, ध्यु कुमारी छैन, कहाँबाट कसरी किन्ने भन्ने खोजी गर्दैछौ ।” आत्मानिर्भरताको लागि आफूहरुले पनि हालै मात्रै ध्यु कुमारी लगाएको तर तत्कालको लागि भने किन्नु पर्ने अवस्था रहेको उनले बताइन् ।
तालिमको क्रममा उनीहरुले झण्डै ४ सय पिस साबुन बनाएका थिए । जुन अब थोरै मात्रै बाँकी रहेको छ । आगामी दिनमा साबुन उत्पादन गरेपछि त्यसको लागी खोल र ब्राडीङ गर्न चाँही बाँकी रहेको उनले बताइन् । साबुन उत्पादनलाई संस्थागत गर्न उनीहरुले वनकरिया महिला विकास संघ नामक संस्थाबाट संस्थागत रुपमा नै अघि बढ्ने तयारी रहेको सन्तोषीले बताइन् । उनी यो संघको समेत सचिव हुन् ।
“तालिम लिएपछि हामी एकदम खुसी छौ, अब स्थानीय सरकारले पनि केही सहयोग गरिदिए हामीले यसलाई उद्योगको रुप दिन सक्ने थियौ” संघको अध्यक्ष माया वनकरीयाले भनिन् । उनीहरुले उत्पादिन साबुनको मूल्य निर्धाणर गरिसकेका छैनन्, समूहमा छलफल गरेर आफूहरुको लगात हिसाब गरेर मात्रै मुल्य तोक्ने तयारीमा छौ” सन्तोषीले भनिन् “लागत मुल्यमा थोरी हाम्रो श्रम जोडेर मूल्य तोक्ने छौ, सुरुमा फाइदाभन्दा पनि हाम्रो उत्पादनको बजारीकरण महत्वपूर्ण छ ।”
ध्यु कुमारी र तितेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ ५ वटा फर्मा दिएको छ जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकै पटकमा २४ वटासम्म साबुन बनाउन सकिन्छ । वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीयाहरुहरुको आफ्नो जग्गा छैन ।
गत २०७९ जेठमा जग्गाको माग गर्दै संघीय सरकारको आश्वासन पाएका उनीहरुले अझै जग्गा पाएका छैनन् । सरकारले भूमीहिनलाई जग्गा वितरण गरिरहँदा आफूहरुले पनि जग्गा पाउनु पर्ने माग गर्दै वनकरीया समूदायका प्रतिनिधि वडा अध्यक्ष प्रकाश थापाको साथ लागेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको आश्वासनपछि ढुक्क भएको फर्केका थिए । तर, एक वर्ष बित्यो उनीहरुको फाइल अघि नबढेको सन्तमाया वनकरीयाले बताइन् ।
वनकरीयाहरु यस स्थानमा २०१८ सालदेखि बस्दै आएका छन् । २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामुहिक लालपूर्जा माग गर्दै आएका छन् । यसक्षेत्रमा १९ घर वनकरीयाको बसोबास रहदै आएको छ ।
आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन केही सहयोग भए पनि यो समूदायमा स्वास्थ्य, शिक्षालागयत आधारभूत आवश्यकता परिपूर्ति हुन समस्या रहेको छ ।