मकवानपुर । आज वैशाख कृष्ण औंसीको दिन । नेपालमा हिन्दू संस्कृति अनुसार आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी पर्वको रूपमा मनाइने गरिन्छ। आमालाई सम्मान गरी बैशाख ७ गते विहीबार आमाको मुख हेर्ने दिन मनाइँदै छ ।
आमाकाे महत्व अमुल्य रहेकाे छ । आमालाई भगवानकाे अर्काे रुपले पुज्ने गरिन्छ । त्यसाेत आज विहानै देखि आमाकाे नाममा समाजिक संजाल भरिएका छन् । आमा नजिक भएकाहरु आमाको मुख हेर्न तथा खुवाउन जाने गर्छन । आमा भन्दा अलि टाढा भएकाहरु विभिन्न माध्यमबाट आमालाई भेट्ने गर्छन ।
इलाम सुर्योदयकी टिन्कु भट्टराईले सामाजिक संजाल फेसबुकमा आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
मनको घाउ सफलताले धुनुपर्छ भन्छिन् आमा
भित्री ईख बाहिरी मुस्कान हुनुपर्छ भन्छिन् आमा
गल्तीहरु चुनौती हुन् बिचल्लीत नहोउ कहिल्यै ,
उच्च शिखर साहशले नै छुनुपर्छ भन्छिन् आमा ।
यस्तै विन्दामाया तामाङ ओखलढुंगाले पनि फेसबुकमै आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
आमाको प्यार बेच्ने अनि किन्ने कुनै खानदान नभईदियोस
ममता नै उच्छिन्ने त्यत्ती सम्मको अरु वरदान नभईदियोस
सयौं – हजारौं आमाको आँसु झरेको सर्वत्र देखेकी छु मैले
विन्ती छ भगवान आफ्नै आमा नचिन्ने सन्तान नभईदियोस ।
याे मुक्तकिलाे भावले समेत आमाकाे महत्व अमुल्य रहेकाे बताउँछ ।
आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।
आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्।
यसैगरी काठमाडौकी वृन्दा ढुगानाले फेसवुकामा आमाकाे नाममा यसरी मुक्तक राखेकी छन् ।
आफू बरु भोकै बसेर सन्तान अघाउने आमा
मष्तिस्कमा नै पसेर माया सद्भाव जगाउने आमा
सकिंदैन वयान गरेर महिमा अपरम्पार आमाको
आफ्नो चाहना कसेर आफ्ना सजाउने आमा।
आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ।
चितवन भरतपुरकि सरस्वती पौडेलले आमालाई सम्झिएर फेसबुकमा लेखेकी छिन
मनको घाउ बल्झिरहन्छ दुखाइ सानो भएन आमा
आँखा रसाइ रहन्छन कहिल्यै ओभानो भएन आमा
मातातिर्थ औँशीमा मात्र होइन सधैं सधैं शुन्य लाग्छ
बर्षहरु पुराना हुँदै गए तर यो याद पुरानो भएन आमा ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ बुढापाकाको छ । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।
स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतिदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
यसै गरी भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेका थिए। उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाले। ‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो भन्ने अर्काे धार्मिक विश्वास समेत पाइन्छ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने गरिन्छ ।