मकवानपुर । आजबाट कक्षा १० को एसईई परीक्षा सुरू हुदैछ । विद्यालय शिक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण मानिदै आएको यो परिक्षाको लागि मकवानपुरबाट ६ हजार ३३३ जना विद्यार्थी सहभागी हुंदैछन ।
यसैगरी बागमती प्रदेशबाट १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरे अनुसार, प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
निर्देशनालयका अनुसार, परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन् ।
यस्तै १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएको छ । परीक्षामा काठमाडौंबाट ३६ हजार ५७७ जना, भक्तपुरबाट ५ हजार ८०५ जना, ललितपुरबाट ९ हजार ८९९ जना, काभ्रेपलानचोकबाट ६ हजार ४३६ जना, सिन्धुपाल्चोकबाट ३ हजार ९८५ जना, नुवाकोटबाट ४ हजार ३०० जना, रसुवाबाट ६२८ जना, धादिङबाट ५ हजार ३८६ जना, मकवानपुरबाट ६३३३ जना, चितवनबाट १० हजार ८५६ जना, रामेछमपबाट ३ हजार २२५ जना, दोलखाबाट ३ हजार ६२ जना र सिन्धुलीबाट ५ हजार २४१ जनामा परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षाको लागि सबै जिल्लामा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र राखिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण गराएको छ, परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ । परीक्षा २९ गतेसम्म संचालन हुनेछ । परीक्षा अवधीभए अनुगमनको क्रममा विद्यार्थीमैत्री ब्यवहार गर्न निर्देशनायले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
देशभर ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी
यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षा नियन्त्रक कार्यालयका अनुसार २ लाख ६० हजार ६ सय ७४ छात्र र २ लाख ५५ हजार ९ सय १७ छात्रा एसईई परीक्षामा सहभागी हुने भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापान सरकारको अनुमति लिएर जापानबाटै परीक्षा दिन लागेका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् ।