मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठलाई दिइएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारको प्रवक्ता तोकिएको थिएन ।
बुधबारको मन्त्रिपरिषद् बैठकले विभीन्न निर्णय समेत गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा सिन्धुलीका प्राध्यपक डाक्टर नरविक्रम थापालाई नियुक्त गरेको छ।
यस्तै बैठकले चेपाङ समुदायका न्वागी र माझी समुदायका लदी पर्वमा समुदायगत विदा दिने पनि निर्णय गरेको छ। बैठकले वैशाख १ गते देखि बागमती प्रदेशका सरकारी कार्यालयहरुमा विद्युतिय हाजिर गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।