मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बिपदको पूर्व तयारी र अपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् । मंगलबार काभ्रेपलाञ्चाेक जिल्लाकाे जिल्ला प्रहरी कार्यालय र कारागारको अनुगमन गर्दै मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न समेत निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, नदिजन्य पदार्थको चोरी निकासी रोक्नको लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका हुन् । उनले काभ्रे कारागारका कैदि बन्दीहरुको दैनिकी जीवन, राज्यले दिएको सुविधा सहित अतिरिक्त आवश्यकताका बारेमा समेत जानकारी लिएका थिए ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कारागारका समस्यालाई नीतिगत रुपमै हल गर्ने र खुला कारागारको नीति बनाउने तर्फ पहल गरिने बताए । कारागार प्रमुख परशुराम थापाले मन्त्री श्रेष्ठ समक्ष कारागारका भौतिक तथा अन्य समस्या राखेका थिए । कारागार प्रमुखले राखेका समस्यालाई सम्बोधन गरिने प्रतिवद्धता समेत मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् ।