मकवानपुर । मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । दोस्रो संस्करणको जिल्लास्तरीय अन्तरपालिका फुटबल अन्तरगत शनिबार हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० गोलअन्तरले हराउँदै हेटौंडाले उपाधी जितेको हो ।
हेटौंडाको जितमा विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले १/१ गोल गरे । जितसँगै हेटौंडा उपमहानगरपालिका टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गढी गाउँपालिका टिमले १ लाख रुपैयाँमा चित्त बुझाएका छन् ।
शनिबार भएको फाइनल खेलको म्यान अफ द म्याच तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बिधागत उत्कृष्टमा गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत उत्कृष्ट सबै हेटौंडा उपमहानगरका घोषित भएका छन् ।
हेटौंडाले भीमफेदी गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । गढीले बागमती गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । हेटौंडा साविक उपविजेता समेत हो ।