मकवानपुर । नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीकाे घेराबन्दीमा रहेकाेले कार्यकर्ता पंक्तिले एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताएका छन् ।
नेकपा एमाले, मकवानपुरकाे पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान-२०७९ काे समीक्षा बैठकमा अधिकारीले बलियाे संगठन र जनताकाे समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताकाे हितमा दृढ भएर नेकपा एमाले उभिने बताए । अबकाे हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलाे र बहुमतमा आउनकाे लागि अभियान सञ्चालन गरेकाे उनले प्रष्ट पारे ।
अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेकाे, पार्टीकाे जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनकाे जिल्ला कमिटीकाे वैठक बस्ने, अभियानसम्बन्धी याेजना बनाउने, अवधि पुगेका कमिटीकाे अधिवेशन र पुन:गठन भईरहेकाे, पार्टी सदस्यता नवीकरण , नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेकाे, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविराेधहरू न्यूनीकरण भएकाे, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचकाे सम्बन्ध सुदृढ भएकाे, पार्टी संगठनलाई बलियाे र व्यवस्थित बनाउन बल पुगेकाे बैठकले निष्कर्ष निकालेकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२०७९ बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली (मनहरी, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका), पार्वत गुरूङ्ग (हेटाैँडा उपमहानगरपालिका), खेम लाेहानी (ईन्द्रसराेवर र थाहा), बालिका गिरी (गढी र भीमफेदी), कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपाेर्टिङ्ग गरेका जिल्ला सचिव सिग्देलले जानकारी दिए ।
देशभरका युवाहरु एमालेको साथमाः पार्वत गुरुङ
यसैबीच नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य पार्वत गुरुङले देशभरका युवाहरु एमालेको साथमा रहेको बताएका छन् ।
गुरुङले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणामबाट सबै दलहरु एकतातिर मिल्दा पनि एमाले निकट अनेरास्ववियु प्रथम स्थानमा रहनुले एमालेमा युवाहरुको क्रेज बढेको देखिएको बताएका हुन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ को वडा अधिवेशनमा बोल्दै उनले भने ‘ हामीलाई एक्लो पार्नको लागि दुई महिनाको अन्तरालमा गठवन्धन टुटाउने काम भयो, यसकाे असर स्ववियु निर्वाचनमा पनि देखिने होकि भन्ने डर थियो, तर देशभरका युवाहरुले एमालेलाई देखाएको विश्वासको कारण घेराबन्दी तोडदै प्रथम बन्न सफल भयौँ, यस्ले के प्रमाणीत गर्छ भने देशभरका युवाहरुमा एमालेको क्रेज बढ्दो क्रममा छ ।’
स्ववियु निर्वाचनमा स्वतन्त्र भनिएकाहरु नराम्रोसँग पराजित भएको भन्दै एमालेप्रति जनविश्वास थप बढेको बताए । मिसन ग्रासरुटले एमालेप्रतिको उर्जा थप गर्ने बताउँदै गुरुङले देश बनाउने भिजन एमाले बाहेकको अरु कुनै दलसँग नभएको दाबी गरे । हामिले सरकारमा रहँदा जहिलेपनि जनताको हित, देशको विकासको लागि मात्र सोच्ने गरेका छौँ, गणितले कहिलेकाँही साथ नदिनपनि सक्छ तर यो देश बनाउने भिजन एमाले बाहेक अरुसँग छैन, एमालेसँगको भएको भिजनलाई साथ दिनेको जमात दिनानुदिन बढदै गाएको छ –उनले भने ।