मकवानपुर । मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले एकै थलोमा विभिन्न विधाका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संगमले आगामी बैशाख महिनामा दुई दिनसम्म साहित्य महोत्सव गर्ने र सोही महोत्सवमा ११ जना अग्रज युवा र अनुज साहित्यकारहरुलाई नगद सहिद सम्मान गर्न लागेको शनिबार पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।
संगम अध्यक्ष अनिता न्यौपानेका अनुसार २५ हजार राशि सहितको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान २०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । साहित्य सङ्गम मकवानपुर संस्थापक साहित्यकार केशव श्रेष्ठ ‘ज्योती’ ले संगमको नाममा पुरस्कार स्थापना गरेका थिए । २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुमध्येबाट उनलाई पुरस्कृत गर्न लागिएको हो ।
संगमले डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ । २२ हजार २ सय २२ रुपैया राशीका यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । याे पुरस्कार साहित्यकार जेनन नेपाल र समिला दुलालले हजुरआमा हजुरबुवाको स्मृतिमा स्थापना गरेका हुन् । यस्तै भैरव अर्याल स्मृति सम्मान २०७९ मकवानपुरमा रहेर लामो समय साहित्य लेखन, पत्रकारिता, व्याङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय शाहलाई प्रदान गरिने भएको छ । हास्यव्यगयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले व्यङ्ग्य क्षेत्रमा प्रदान गर्दै आएको यो पुरस्कार २१ हजार १११ रुपैया राशी रहेको छ ।
यसैगरी संगमले मकवानपुरमा रही साहित्यमा निरन्तर क्रियाशील सर्जकलाई प्रदान गर्दै आइरहेको मकवानपुर साहित्य श्री सम्मान साहित्यकार गीतकार शम्भु बास्कोटालाई प्रदान गरिनेछ । भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कार साहित्यकार विशाल अधिकारी आशुतोषले पिताको सम्झनामा स्थापना गरेका हुन् । यि दुबै पुरस्कारको राशी १५ हजार ५ सय ५५ रहेको छ ।
संगमले सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान २०७९ पुरस्कार साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गर्ने लागिएको अध्यक्ष अनिता न्यौपानेले बताइन् । यो पुरस्कार दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेका हुन् । यसैगरी शिक्षासेवी देवप्रसाद श्रेष्ठको आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान २०७९ बाट यो वर्ष मकवानपुरमा जन्मेर काठमाडौ रहेर साहित्यमा सक्रिय स्रष्टा बिना थिङलाई प्रदान गरिने भएको छ।
साहित्यकारद्वय ऋषि केबी र पुण्यशिला श्रेष्ठले मातापिता सासुससुराको नाममा स्थापना गरेको रामहरि देवु युवा सम्मान २०७९ बाट युवा साहित्यकार छवि अनित्यको लागि प्रदान गर्ने निर्णय भएको अध्यक्ष न्यौपानेले बताइन् । यसैगरी अग्रज साहित्यसेवी मुक्तिगाविन्द बैद्य र उनकी पत्नी तारादेवी वैद्यद्धारा स्थापित मुक्ति तारा सम्मान २०७९ बाट सुत्र कथाकार श्यामकृष्ण ज्ञवलीलाई प्रदान गरिने निर्णय भएको संगमका अध्यक्ष डीबि बर्तौलाले बताए । यि सबै पुरस्कारको राशि १० हजार रहेको छ ।
यसैगरी मकवानपुरका हास्यब्ययका आर सी रिजालले आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यस वर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको हो । पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्राहरु बिच यसवर्ष चित्रकला प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको सचिव बर्तौलाले बताए ।
यस्तै शिक्षासेवी डेण्डीजंग शाहद्धारा स्थापित शेषजंग स्मृति कथा पुरस्कार यस वर्ष बाल जागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गर्न लागिएको छ । यो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु विच कथा प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको हो।
यसैविच साहित्य संगम मकवानपुरले हेटौडा उपमहानगरपालिका कार्यालयसँगको सहयोगमा हेटौडा साहित्य महोत्सव २०८० आयोजना गर्ने भएको छ । सोही दिनमा सम्मानहरु समर्पण गरिने बर्ताैलाले बताए । आगामी बैशाख ८ गतेबाट दुई दिन सञ्चालन हुने महोत्सवमा साहित्यका विविध विधामा साहित्यिक बहस, हेटौंडा विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रदशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहने छन्।
महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानसंग सहकार्य तयारी भएको संगम अध्यक्ष न्यौपानेले बताइन् । २०४४ सालमा स्थापना भएको संगमले आफ्नो जग्गा, भवनमा रहेर साहित्यको विविध क्षेत्रमा कार्य गरिरहेको छ । हेटौडा उपमहानगरपालिकासंगको साझेदारीमा २०५९ सालदेखि पुष्पलाल स्मृति पुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ ।