मकवानपुर । केही समय अघि नेपाली सेना डोजर लगाएर आवास भत्काएपछि सुकुम्बासी बनेकाहरु माझ पुगेका छन् संघीय सांसद महेशकुमार बतौला ।
संघीय सांसदको लागि मकवानपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित बर्तौला मकवानपुरको लोथरमा सेनाद्वारा भत्काईएको सुकुम्बासी बस्ती अनुगमनमा पुगेका हुन् । नेकपा एमालेको संसदीय दलको सचेतक समेत रहेका बर्तौला चितवन राष्ट्रिय निकुञ्ज कसरामा बनेको २२ घर टहरामा नेपाली सेनाले डोजर लगाएर भत्काएपछि स्थलगत अनुगमनमा पुगेका हुन ।
घर टहरा आधा रातमा डोजरले भत्काएको प्रती स्थानीयले सांसद बर्तौलासंग दुखेको पोखेका थिए । २०४९ सालकी वडा अध्यक्ष सरिता बिकका अनुसार उक्त स्थान २०४० सालमा तत्कालीन सांसद रुपचन्द्र बिष्टको पहलमा बाढिपिडित १४ घरधुरीलाई राखिएको हो ।

हाल त्यो १४ घरधुरीका मानिसको संङ्ख्या २२ घरमा बसोबास गर्दै आएको थियो । पूर्व वडा अध्यक्ष गोपि मुक्तानका अनुसार उक्त भुमिहिन सुकुम्बासीका नाममा नापी भइ सुकुम्बासी आयोगले कित्ता काट गरिसकेर लालपुर्जा बितरणको तयारी हुँदा काम रोकिएको छ ।
जग्गा उनीहरुकै नाममा भएकोले घर टहरा बनाउन पाउनुपर्ने माग उनीहरुको छ । स्थानीय भूमिहिनहरु आफ्नो नाममा नापी नक्सा भैइसकेकोले टहरा बनाउन पाउनुपर्ने तर्क गर्छन् ।
बर्तौलाले फिल्डबाट राष्ट्रिय निकुञ्जको वार्डेन हरिभद्र आचार्यलाई फोन गरेर निकुञ्जले आधा रातमा टहरामा डोजर लगाउन पर्ने अवस्था बारे जानकारी मागेका थिए ।
वार्डेन आचार्यले आफूले नियमानुसार टहरा भत्काइ सरकारी जग्गाको संरक्षण गर्न लागिपरेको बताए । आफूले कतै नियम मिचेको भए कारवाहिको प्रक्रिया अगाडि बढाउन समेत वार्डेनले बर्तौलालाई चुनौती दिएका छन् ।
भूमिहिनसंग सांसद बर्तौलाले आफू संधै जनताको पक्षमा काम गर्ने र आफूले यो समस्यालाई सदनमा राख्ने र सदनबाटै लड्ने आश्वासन दिएको स्थानीयले बताए ।