मकवानपुर । हेटौंडाका होटल व्यवसायीहरु तथा , निर्माण व्यवसायीहरुले बालबालिकालाई आफूहरुले श्रममा नलागाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालमैत्री स्थानीय तह घोषणाको लागि पुरा हुनु पर्ने सूचकमा पुग्न र बालबालिकाहरुको संरक्षण आफूहरु समेत दायित्व भएको भन्दै रोजगारदाताहरुले बालश्रम न्यूनीकरणको लागि ऐक्यवद्धता जनाएका हुन् । स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने पूर्व तयारी स्वरूप हेटौंडामा श्रममा रहेका बालबालिकाको सहभागीता सम्बन्धि वकालत बैठकमा यस्ताे प्रतिबद्धता व्यक्त गरिएकाे हाे ।
कार्यक्रममा श्रम कार्यालय हेटौंडाका भिमप्रसाद शर्माले बालबालिकालाई श्रममा लगाएको पाइएमा कानुन बमोजिम कारवाही हुने बताए । बालबालिका सम्बन्धी ऐन, नियमावली तथा नेपालको दीगो विकास योजना अनुसार कार्य अगाडि बढाउन सबैक्षेत्रसँग सबैले हातेमालो गर्नुपर्ने बताइएको छ ।
राष्ट्रिय बाल संरक्षण सन्जाल, आस्मान नेपाल र बालकल्याण समाज मकवानपुरको सयुक्त आयोजनामा हेटौंडामा भएको बहस कार्यक्रममा यस्तो बताइएको हो ।
बालमैत्री घोषणा भएका स्थानीय तहमा झन् धेरै काम बाँकी रहेको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बताए । सरोकारवाल समूहहरुमा श्रमिक बालबालिकालाई सहभागी गराउने, उनीहरूको आवश्यकता, चाहना र भावनाको सम्बोधन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नगर स्तरीय बाल सञ्जालका अध्यक्ष सौरभ देवकोटाले बालबालिकाहरु लुकेर बालश्रममा लाग्ने गरेको बताए । क्लबले सचेतना कार्यक्रम गर्दा गर्दै पनि अभिभावकहरुसँगै श्रममा लाग्ने गरेको अध्यक्ष देवकोटाले बताए । अभिभावकहरुमा सचेतना नभएको कारण बालबालिकाहरु चाहेरभन्दा पनि नबुझेर श्रममा रहेको सञ्जालको सदस्य सुदीक्ष बर्तौलाले बताइन् ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, शिक्षक, होटल सन्चालकहरू, जिल्ला समन्वय समिति, ट्रेड युनियनका प्रतिनिधि, बाल क्लबका पदाधिकारीहरूहरूको उपस्थिति रहेको थियो
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा आस्मान नेपालकी गंगा सुबेदीले बाल श्रमिकहरुको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।