मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । ८ गते लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि आजलाई प्रदेश सभा बैठक बोलाइएको छ ।
आज १ बजे बस्ने भनेको बैठकमा काँग्रेसका सांसदहरु उपस्थित हुने जनाइएको छ । अघिल्लो बैठक काँग्रेसका सांसदहरु सबै उपस्थित नभएकै कारण सारिएको थियो । प्रदेश सभा सचिवालयले बुधबार बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै २ दिनपछि बैठक सरेकाे सूचना टाँसिएकाे थियाे।
आज १ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । संघीय सरकारमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाको तयारी गरेको बुझिएको छ । आज बस्ने प्रदेश सभा बैठकमा एमालेले आफ्नो धारणा राखेर राजिनामा दिने तयारी गरेको छ ।
आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले यस अघि नै बताएका छन् । बागमती प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्रीहरु सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय एमाले बागमती प्रदेश संसदीय दलले गरेको थियो । यद्यपि आजको बैठकमा एमालेले उपस्थिती जनाउने स्रोतको दाबि छ ।
जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।