चेतनाथ दाहाल
१.
मग्मगाउदो सुन्दर फूल पनि ओईलाएर झर्नुपर्छ
आखिर नदीले यहाँ समुद्र संगै समर्पण गर्नुपर्छ
अस्तित्वको सीमा भुलेर व्यर्थै घमण्ड गर्छ मान्छे
थाहा छ नि एकदिन चितामाथि लम्पसार पर्नुपर्छ ।
२.
आत्मीयता बाहेक मित्रता जाच्ने अन्य कुनै कसी हुदैन
भरोसा र बिश्वास बाहेक प्रमाण हुदैन,दसी हुदैन
जात धर्म भुगोल र उमेर सबैभन्दा माथि नै हुन्छ यो
मित्रताको परिभाषा लेख्ने कुनै कलम र मसी हुदैन ।
३.
समयले लुटेको बिगतलाई हत्याउन गार्हो हुने
घुमिरहन्छ दृश्य मस्तिष्कमा लत्याउन गार्हो हुने
ऐना हेर्यो अनी बिगतको तस्वीरसंग दाज्न खोज्यो-
छेउ टुप्पो मिल्दैन,आफ्नै हो भनी पत्याउन गार्हो हुने ।
४.
सुख भन्दा धेरै दु:ख र पिडाको खात आउँछ
आफ्ना भन्नेहरुबाट नै प्रसस्त घात आउँछ
जति सरापे पनि कसैको केही लाग्दैन यहाँ
निद्रा नलाग्नेहरुको लागि पनि रात आउँछ ।
कानेपोखरी २ मोरङ्ग