मकवानपुर । सिमन्तकृत समूदायका व्यक्तिहरु जीविकोपार्जन कै लागि दिनहुँ श्रममा जान्छन् । अभिभावक श्रममा गएपछि बालबालिकाहरु पनि संगै श्रममा जाने र विद्यालय नजाने भएपछि शिक्षा आर्जनबाट बञ्चित हुने गरेका थिए ।
यस्ता बालबालिकालाई श्रमको जोखिबाट उठाए हिमराइट्स मकवानपुरले शिक्षा आर्जनको अवसर प्रदान गरेपछि अभिभावक र बालबालिकाको दैनिकी फेरीएको छ । मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायका बालबालिकाहरुलाई शिक्षा आर्जनको लागि खाद्यान्न सहयोग कार्यक्रम मार्फत सहयोग गरिएको हो ।
बालबालिकाको नाममा खाद्यन्न प्राप्त हुने भएपछि अभिभावकहरुले पनि बालबालिकाहरुको शिक्षामा चासो दिने गरेका छन् । हिमराइट्स मकवानपुर जिल्लाको १ सयजना बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आएको छ । अभिभावकसँग श्रममा जान छोडेर विद्यालय जान थालेका बालिबालिकाहरुमा कुपोषण पनि छैन ।
२०७४ सालदेखि हिमराइट्सले नियमित सहयोग गर्दै आएका बालबालिकाहरु अहिले आफ्नो जीवनमा धेरै सुधार आएको बताउँछन् । हिमराइट्स मकवानपुरले सिमान्तकृत समुदायका लागि शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत मकवानपुरमा यस्तो सहयोग गर्दै आएको हो ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोग तथा हिमराइट्स मकवानपुरको आयोजनामा विद्यालयहरुमा निरन्तर शैक्षिक छात्रावृत्ति सहयोग गर्दै आइरहेको संस्थाले बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गर्दै आएको छ ।
पछिल्लो साता हिमराइट्सले मनहरीको प्रजा आधारभुत विद्यालय हाडिखोलामा अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको संस्थाकी प्रमुख कुमारी वाइबाले बताइन् । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको सभाध्यक्षता तथा मनहरी गाउंपालिका वडा नं ३ का वडा कार्यवाहक अध्यक्ष हिराबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
शिक्षण प्रणालीमा सुधार, तथा समसामयिक विषयमा छलपल गर्दै शिक्षक अभिभावकबिच बैठक गरेर खाद्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सिमान्तकृत समुदायका २७ जना विद्यार्थिहरुलाई चामल, दाल, तेल, मसला, नुनलगायतका अत्यावश्यकीय सामग्री वितरण गरिएको वाइबाले बताइन् । यसै गरी सगरमाथा आधारभुत विद्यालय मनहरी ६ रुपाचुरी, राक्सीराङ्ग गाउंपालिकाका ५ स्थित प्रजा जागृति आधारभुत विद्यालय, सूर्योदय माध्यमिक विद्यालय सरिखेतमा पनि खाद्यान्न वितरण गरिएको छ ।
संस्थाले सबै विद्यालयहरुमा शिक्षक अभिभावक बैठक राखेर बालबालिकाहरुको शिक्षामा आएको सुधारबारे समिक्षा समेत गरेको हिमराइट्सकी इन्दु गोलेले बताइन् । सिमान्तकृत समुदायका बालबालिकाहरु परिक्षका समयमा अभिभावक मजदुरी कामका लागि बाहिर जाने र बालबालिका पनि साथै लैजाने हुनाले पढाइ छाड्ने प्रवृति मकवानपुरको चेपाङ बस्तिमा धेरै रहेको छ ।
“बालबालिका नियमित रुपमा परिक्षामा सामेल होस भन्ने हेतुले परिक्षाको पूर्व सन्ध्यामा यसरी खाद्यान्न सामग्री वितरण गरिएको हो” वाइबाले भनिन् ।
यसैगरी मनहरी गाउंपालिका वडा नं ६ श्री सगरमाथा आधारभुत विद्यालय रुपाचुरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विर बहादुर मुक्तानको सभाध्यक्षता तथा प्रधानाध्यापक खड्का बहादुर मुक्तानको प्रमूख आतिथ्यतामा शिक्षक शिक्षिका तथा अभिभावक बिच बैठक तथा खाद्यान्न सामग्री वितरण गरिएको वाइबाले बताइन् । कार्यक्रममा सिमान्तकृत समुदायका २१ जना भाइबहिनीहरुलाई चामल, दाल, तेल, मसला, चिउरा, नुनलगायतका अत्यावश्यकीय सामग्री वितरण गरिएको थियो ।
सिमान्तकृत समुदायका बालबालिकाहरु प्राय गरी परीक्षाका समयमा अभिभावक मजदुरी कामका लागि बाहिर जाने र बालबालिका पनि साथै लैजाने हुनाले पढाइ छाड्ने प्रवृति रहिआएकोले विद्यालय छाड्न बाध्य नहोस र बालबालिका नियमित रुपमा परिक्षामा सामेल होस भन्ने हेतुले परिक्षाको पूर्व सन्ध्यामा यसरी खाद्यान्न सामाग्री वितरण गरिएको वाइबाले बताइन् ।
कार्यक्रममा विद्यालयका प्राध्यापक सिताराम सुवेदीले संस्थाबाट सहयोग पाएर निरन्तर अध्ययनमा आएका बालबालिकाहरुमा धेरै राम्रो गुणको विकास भएको बताए ।
वडा अध्यक्ष उत्तम वाइबाले समय सापेक्षित जीवनपयोगि शिक्षाबारे पनि बालबालिकाहरुले अतिरीक्त कक्षामा ज्ञान लिने गरेको आफूले थाहा पाएको भन्दै संस्था र संस्थाले राखेको अतिरीक्त कक्ष शिक्षकको प्रशंसा गरे । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिती अध्यक्ष ओमकार घलान, लेखापाल पुरण शाहले आर्थिक तथा खाद्यान्न सहयोगले बालबालिकाहरु कामको लागि पढाइ छाड्ने प्रवृत्तिबाट माथि उठेको बताए ।
यसै गरी हिमराइट्सले राक्सिराङको चैनपुरमा रहेको प्रजा जगृती विद्यालयको २७ जना बालबालिकाहरुलाई पनि खाद्य सामग्री वितरण गरेको छ । विद्यालयका सहायक प्राध्यापक रामप्रसाद सापकोटा अध्यक्षतामा भएको कार्यक्रममा वडा ५ अध्यक्ष हरि बहादुर प्रजाले यस्तो कार्यक्रमको निरन्तरता आवश्यक भएको बताए । हातमुख जोहोर्नै समस्या भएको समूदायमा संस्थाले सहयोग गरेपछि बालबालिका मात्रै हैन अभिभावकहरुमा समेत सकारात्मक परिवर्तन आएको प्रजाले बताए । आफूसँग काममा जाँदा स्वास्थ्य सरसफाइमा बेवास्ता गर्ने, आफ्नो नाम समेत भन्न नसक्ने बालबालिकामा धेरै परिवर्तन आएको रूपाचुरीको अभिभावक बिष्णुमाया प्रजाले बताइन् । “थोरै पैसा कमाउन बाध्यताले आफूसँगै काममा लैजादा बालबालिकाको पढाइ सुरु नै हुन सकेको थिए, संस्थाले नै पढाउन थालेपछि कक्षा १ मा भर्ना भएकी छोरी अहिले कक्षा ६ मा पुगेको भन्दै उनले खुसी प्रकट गरिन् । “कक्षा १२ सम्म संस्थाले सहयोग गरेर पढ्न पाएमा आफ्नो खुट्टामा उभिएर जीवन उरुको लागि पनि उदाहरणीय बनाउने थिए” विद्यार्थी कान्छिमाया प्रजाले भनिन् ।
संस्थाले मनहरी ६ मा रहेको सगरमाथा आधरभूत बिद्यालयको २१ जना बालबालिकाहरुलाई पनि प्राध्यापक खड्गबहादुर मोक्तानको प्रमुख आतिथ्यमा एका कार्यक्रम गरेर खाद्यान्न वितरण गरेको छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरबहादुर मोक्तान, निवर्तमान अध्यक्ष मकरलाल रूम्बाले खाद्यान्नले बालबालिकालाई शिक्षासंग जोडेकोमा खुसी व्यत्त गरे ।
संस्थाले विद्यार्थीलाई बिद्यालय पोषाक, न्यानो कपडा, नियमित कक्षसँगै अतिरिक्त कक्षामा पढ्ने व्यवस्था समेत गरेको छ । यहाँका विद्यार्थीहरुलाई २०७४ सालदेखि सहयोग गर्दै आएको वाइबाले बताइन् ।