बिषय प्रवेशः
लोकसेवामा वा हाजिरी जवाफ प्रतियोगितमा सोधिने एक प्रश्न ठेकीको लागि प्रसिद्ध जिल्ला कुन हो ? अनि यसको उत्तर मकवानपुर हो, यसले मकवानपुरको धेरै परिचय मध्ये एक पहिचान बनायो, यो हाम्रो गौरवको बिषय पनि बन्यो । कुनै दिन मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो अब इतिहाँसमा सिमित हुन पुग्यो । अर्को तथ्य अझ रमाइलो छ, यो ठेकी बन्ने काठ चाही के को हो भनेर हामिलाई सोध्यो भने यो दार हो भन्ने चाही हामी मध्ये धेरैलाई थाहा छैन ।
अनि त्यसमा पनि यो दारको रुख हाम्रो जिल्लामा कहाँकहाँ पाइन्छ ? प्राकृतिक रुपमा यसको अवस्था के छ ? दारको रुख देखेका छौ भनेर सोधियो भने यसको उत्तर चाही झन् निरासाजनक छ । हाम्रो जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ भनेर हामीले भन्नु पर्दा हामि दुखि छौ तर निराश छैनौ र यसै तथ्यलाई मध्यनजर गरेर हामी यसको प्रवर्धन गर्न अभियान नै संचालन गर्दैछौ, त्यसैको एक कदमको रुपमा यो सानो ब्रोसर तपाई समक्ष आइपुगेको छ ।
परिचयः
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर
राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने छ ।
उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।

यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।
चुनौतीः
एक समयमा काठको ठेकी लगायतको बस्तुको अधिक माग र त्यसको आपूर्तिको लागि अधिक कटान र दोहनले यसको शंख्या निकै घटेर गयो । किसानले डालेघाँसमा अधिक प्रयोग गर्ने, अधिक हाँगा कटान पछी ठुलो रुख हुन् नसक्ने र त्यतिकै क्रमश सकिदै जाने, ढिलो बढ्ने हुनाले किसानको कम रुची हुनाले नया रोपणमा चासो कम हुँदा नया बिरुवा रुख भएनन ।
पछिल्लो समयमा सामुदायिक वनहरू सबैजसो साल लगायतका काठमा मात्र केन्द्रित हुनु, सरकारी स्तरमा यसलाई प्राथमिकता दिएर कार्यक्रम संचालन हुन् नसक्नु, खपत सबै तिरबाट गर्ने तर संरक्षण कोहि नगर्ने र यसको महत्व बुझाउन नसक्नु यसको
संरक्षणमा देखिएका मुख्य चुनौती हो । यसैगरि काठको सहज उपलब्धता नहुनाले परम्परागत ठेकी र काठको भाडा बनाउने पेशा पनि क्रमश बिस्थापित हुदै जानु र जिल्लाको परिचय बनाउन सफल हामी मकवानपुरका कसैले पनि यसको खोजखबर पनि नगर्नु पनि यहाको लागि चुनौती र दुखद पक्ष हो । प्राकृतिक वासस्थानमा रहेका माउँ वोटहरु कम हुदा फलको उत्पादनमा ह्रास आएको देखिन्छ र वोटमा फल लागेपनि अधिक र अनियन्त्रित डढेलो, खुल्ला चरिचरण र सानैमा नै घाँस काटेर लगिदिनाले यसको पुनरोत्पादनमा समस्याहुने गरेको छ ।
आगामी योजनाः
दारलाइ केन्द्रित गरेर छुट्टै नीति र योजना बनेका छैन र प्राय जिल्लाले र समुहले यसलाई मुख्य एजेन्डा बनाएको पाइदैन तर हामी मकवानपुरको परिचयसंग समेत यो जोडिएको हुनाले यसको संरक्षणमा हामि सबैले तुरुन्त लाग्नुपर्ने देखिएको छ अन्यथा यो परिचय किताब, पत्रिका, सिमेन्टका प्रतिमुर्तिमा (Statue) मात्र सिमित हुने भै सकेको छ । यो हामी वनकर्मीको लागि मात्र होइन यहाका सबै जनसमुदायको चासो र चिन्ताको बिषय हुनु पर्दछ । यसको लागि जिल्ला समन्वय समिति, यहाका सबै पालिका, सामुदायिक वन, संचारकर्मी, काठमा आश्रित उधोग व्यवसायीले अपनत्व ग्रहण गर्नुपर्दछ र हामि यसको लागि सबैलाई बिनम्र आग्रह गर्दछौ ।
अब हामीले यसको प्रवर्धनमा निम्न काम तुरुन्त गर्नु पर्ने देखिन्छ ।
- दार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापनको लागि बृहद अध्ययन अनुसन्धान गर्ने, यहाँ रहेको वन बिज्ञान अध्ययन संस्थानका बि एस सी, एम एस सी का विधार्थीलाई अध्ययनको लागि सानो भएपनि छात्रवृतिको व्यवस्था पालिका वा वन कार्यालयले गर्नेिदार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापन कार्ययोजना बनाउने, कार्वान्यवन गर्ने
- दारको प्राकृतिक वासस्थानको संरक्षण गर्ने, वनडढेलो र अतिक्रमण नियन्त्रण गर्ने
- निजी तथा कृषिवन प्रणालीको विकास र विस्तार गर्ने र सामुदायिक वन, निजि जग्गामा किसानलाई दार रोपण, संरक्षणमा पालिका वा वनकार्यालय वा काष्ठमा आधारित उधोग मार्फत अनुदानको समेत व्यवस्था गर्ने
- सामुदायिक वन तथा जिल्लाको वन व्यवस्थापन कार्ययोजनामा दार प्रजाति संरक्षणका कृयाकलापहरु समावेश गर्ने, समुहलाई उत्प्रेरित गर्ने
- यसको बारेमा प्रचारप्रसार तथा जनचेतनामूलक कृयाकलापहरु संचालन गर्ने ।
अन्त्यमाः
दार संरक्षणमा हामि मकवानपुरे निश्चय पनि निकै पछी परेका छौ तर कुरा यतिमा सिमित रहदैन । हामीलाई यहाको भूगोलले निकै साथ दिएको छ । यसले छुट्टै परिचय दिएको छ र यो परिचयलाई इतिहाँसमा मात्र सीमित नराखी फेरी नया शिराबाट काम सुरु गरौ, केहि फरक काम गरौ भन्ने उत्साहका साथ अगाडी बढेको जिल्ला समन्वय समिति, पालिका, सामुदायिक वन, निजि किसान, सकारात्मक संचारकर्मी अनि हामि वन कर्मी छौ । हामि सबैको प्रयासले यो बिषयलाई सुखद नतिजा दिने कुरामा हामि प्रतिबद्ध भएमा फेरी एक पटक ठेकी खोज्न, कच्चा पदार्थ खोज्न यहा आउने वतावरणको श्रीजना गरौ । हिजो सम्म हामीलाई यसको कम चासो भयो, खोजि भयो अब त्यो पाटो सकियो अब अहिले हामीकहा हेटौडा, मनहरीका हाम्रा नर्सरीमा बिसौ हजार दारका बिरुवा तयार हुदैछन, हामी प्राकृतिक अवस्थाको बिरुवाको पनि खोजीमा छौ यहि बर्षात को समयमा नै केहि काम गरेर सुरु गर्न पुन आग्रह गर्दछौ ।
स्रोतः डिभिजन वन कार्यालय राप्ती मनहरीद्वारा प्रकाशित ‘दार एक चिनारी’ब्रोसर ।