मकवानपुर ।मकवानपुरको हेटौंडामा भोलि मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ ।
नेपालमै पहिलो पटक हेटौंडामा नोभिस बक्सिङ प्रतियोगिता हुन लागेको हो । नबप्रवेशीहरूलाई मात्रै सहभागी गराई उनीहरू क्षमता प्रदर्शन गर्ने र खेल जीवनको खाका कोर्ने आधार तय गर्न यो प्रतियोगिता गर्न लागिएको जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले बताए ।
हेटौंडा उपमहानगरपालिका ४ परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिए ।
मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको वाग्मती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा २३ जिल्लाबाट ३७ वटा क्लबका १ सय ७८ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष जोशीले बताए ।
जसमा २८ जना महिला खेलाडी रहनेछन् । प्रतियोगितामा १७ वर्षदेखि २१ वर्ष उमेरसम्मका खेलाडीले सहभागिता जनाउने छन् ।
नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रुपमा रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले जानकारी गराए । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीले सहभागिता जनाउनेछन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र बेष्ट लुजरलाई ३ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एक जना बेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताइएको छ ।
जिल्ला बक्सिङ संघका उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले वडाको तर्फबाट प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए।
बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका घिमिरेले मकवानपुरका २३ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा मेडल जितेको जानकारी दिएका थिए । मेडल जित्न सफल खेलाडीहरुलाई प्रतियोगितामा सम्मान गरिनेछ ।