मकवानपुर । आगामी चैत ४ गतेदेखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै मकवानपुर अन्तरपालिका फुटबल प्रतियोगिताको जानकारी गराएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको चैत ४ गते हुने उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । चैत ५ गते आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजनाले जनाएको छ । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा प्रवेश नि:शुल्क गराइने बताइएको छ ।