मकवानपुर । हेटौंडामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ ।
पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा
हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा १८ लाई टाईब्रेकरमा हराउँदै हेटौंडा ७ ले विजयी सुरुवात गरेको हो । निर्धारित ४० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रकरबाट लिइएको थियो ।
टाईब्रकर ७ नम्बर वडाका लागी भरत तितुङ, बिनोद घिमिरे र अमर गुरुङले गोल गर्दा ७ रण संग्राम दुलालको पेनाल्टि प्रहार गोलपोष्ट भन्दा माथीबाट बाहिरिएको थियो । शनिवारको खेलको म्यान अफ दि म्याच ७ नम्बर वडाका रण संग्राम दुलाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार चारवटा खेल हुने संयोजक सचिन जोशीले जानकारी दिए । भोली विहान साँढे ८ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र ८, साँढे ९ बजे हुने दास्रो खेलमा वडा नम्बर ६ र १६, दिउँसो २ बजे हुने तेस्रो खेलमा वडा नम्बर १४ र १५ तथा चौथो तथा अन्तिम खेलमा ३ बजे वडा नम्बर ९ र १७ बीच खेल हुने छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ वडा गरी १३ वटा वडा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५ सय ५५ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।