मकवानपुर । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी हुँदै ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै गरिएको दिवसका सन्दर्भमा शुभकामना दिएका हुन् ।
प्रमुखको शुभकामना सन्देशमा लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक-अधिकारलाई सुनिश्चित गरेको उल्लेख छ । प्रमुख शर्माले लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताएका छन् । यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिँदै प्रमुख शर्माले जारी गरेको सन्देशमा भनिएको छ। ‘शिक्षा,स्वास्थ्य, सामाजिकीकरणजस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी-पुरुषहरुले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ’ सन्देशमा भनिएको छ।
नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भँन्ने कामना पनि प्रदेश प्रमुख शर्मले गरेका छन् ।
“पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस् ” शुभकामना सन्देशमा उल्लेख छ ।