मकवानपुर । बैंककाे चर्को ब्याजको विरुद्धमा मकवानपुरका उद्योगी व्यापारीहरूले चरणबद्ध विरोधका कार्यक्रमहरु घोषणा गरेका छन् । आर्थिक मन्दीबाट राष्ट्रिय अर्थतन्त्र नै शिथिल भएको विषम परिस्थिमा चर्को बैंक ब्याजले सम्पूर्ण उद्योगी व्यवसायीहरु आर्थिक एवं मानसिक रुपमा प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन घोषणा गरिएको हो ।
जिल्लाका राजनैतिक दल, विभिन्न संघ संस्था, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको छलफलबाट सामूहिक निष्कर्षमा पुग्दै चर्को बैंक व्याजको विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बताए ।
उनीहरूले फागुन २१ गते आज कालो ब्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापन पत्र बुझाएका छन भने २४ गते बागमती प्रदेश स्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा शान्तिपूर्ण धर्ना गर्ने, २५ गते बैंकहरुमा धर्ना दिने भएका छन् ।
यसैगरी २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने निर्णय गरेका हुन् ।