व्यंग्य साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने साहित्यकार बासुदेव गुरागाई साहित्य साधनामा अनवरत लागि परेका छन । नुवाकोट बालकुमारी कमेरेगाउमा जन्मिएर केहि समय मकवानपुर हर्नामाडीमा बसोबास गर्नु भएका गुरागाई हाल काठमाडौ गोङगवुलाई कर्म थलो बनाई आउनु भएको छ । नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनु भएका गुरागाई दुप्चेश्वर साहित्य र पर्यटनको साझा अभियान मूल नारा लिएर स्थापित दुप्चेश्वर साहित्य समाज नुवाकोटको विशिष्ट सदस्य तथा संस्थापक अध्यक्ष हुनुहुन्छ । पूर्व कर्मचारी समाजका आजीवन सदस्य तथा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटका सल्लाहकार रहनुभएका उहाँ दायित्व वाङ्मय प्रतिष्ठान र बुढ्यौली साहित्य समाज हेटौँडाको पनि आजीवन सदस्यका अतिरिक्त शिवपुरी साहित्य समाज, बूढानीलकण्ठ काठमाडौँका वर्तमान कार्य समिति सदस्य हुनुहुन्छ । विगतमा एक कार्यकाल त्रिशूली वाङ्मय प्रतिष्ठानको कार्य समिति सदस्य समेत रहनुभएका उहाँका साहित्यमा प्रकाशित कृतिहरूमा ‘स्वागत’ (फुटकर कविता सङ्ग्रह) २०५३, ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य) २०५९, ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६२, ‘बास उठेका चराहरू’ (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४, ‘मोफसलको मधुरिमा’ (नियात्रा सङ्ग्रह) २०६९, ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०७०, ‘अनुमानित निष्कर्ष’ (छोटा कथा सङ्ग्रह) २०७२, ‘समयान्तर’ –कथा सङ्ग्रह) २०७२, ‘नुवाकोटका पशुपति ः दुप्चेश्वर महादेव’ (पर्यटन प्रवद्र्धनात्मक कृति) २०७३, ‘वसन्त वृक्ष’ सहस्र नेपाली हाइकु सङ्ग्रह २०७५, ‘फुमन्तर’ (लघुकथाहरू) २०७६, ‘नुवाकोटका पशुपति दुप्चेश्वर महादेव ः सङ्क्षिप्त झलक २०७७, ‘रातो गुलाफ’ सुसेली–सङ्ग्रह २०७९, ‘बाबा दुप्चेश्वर’ (भजन–सङ्ग्रह) २०७९ रहेका छन् ।

गुरागाईले नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग, २०७३,. माटोको ममता (प्रधान सम्पादक) राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोट, २०७३, नेपालको निर्वाचन इतिहास–२, निर्वाचन आयोग (सङ्कलन तथा लेखनसमेत), २०७८, ‘शिखर सौगात’ (प्रधान सम्पादक) दुप्चेश्वर विशेषाङ्क, दुप्चेश्वर साहित्य समाज, नुवाकोट, २०७८ सम्पादन गरेका छन् । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरू, साहित्यिक पत्र–पत्रिकाहरू, म्यागेजिन तथा अनलाइन पोर्टलहरूमा सयौँको संख्यामा फुटकर कविता, निबन्ध, कथा, मुक्तक तथा समसामयिक विषयका लेखहरू प्रकाशित छन् । साहित्यका मुख्य विधा बढी लेखन एवं सफलताका हिसाबले क्रमशः कविता, निबन्ध (नियात्रा तथा हास्यव्यङ्ग्य), लघुकथा, सुसेली, हाइकु, कथा, लघुकथा, भजन, गीत स्थान परिचयतात्मक पर्यटन प्रवद्र्धनात्मक कृति लगायत साहित्यका विविध विधामा उत्तिकै सशक्त कलम चलाउनुहुने साहित्यकार बासुदेव गुरागाई विभिन्न समयमा पुरस्कृत तथा सम्मानित भएका छन् ।
विद्यालय तहमा अध्ययन गर्दाकै अवस्थामा वि. सं. २०२९ तिर विद्यालयमा आयोजित कविता प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेका उहाँले साहित्यिक प्रतिभाको कदर गर्दै सचिव, निर्वाचन आयोग तथा निर्वाचन आयोगको सचिवालय परिवारद्वारा प्रदान गरिएको दोसल्लासहित कदर–पत्र २०६०, निजामती सेवा दिवस, २०६४ का अवसरमा सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित ‘सुशासन’ गीत प्रतियोगितामा उत्कृष्ट (एक मात्र गीत छनोट भई रेडियो नेपाल र नेपाल टेलिभिजनमा रेकर्ड भएको) भए वापत प्रशंसा–पत्र, विभिन्न वर्षका निजामती सेवा दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणपत्र, हास्यव्यङग्य साहित्यमा पु¥याएको योगदान वापत साहित्य सङ्गम मकवानपुर एवं सिस्नुपानी नेपाल मकवानपुरद्वारा २०७१ सालमा संयुक्त रूपमा नगद सहित पिँडालु पण्डितका नाममा प्रमाण–पत्रसहित भैरव स्मृति सम्मान, नेपाली वाङ्मय जगत्मा खास गरी नियात्रा, कथा, कविता, हाइकु, समीक्षा र हास्य–व्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान दिए वापत वि. सं. २०७७ को संसाक अनामणि समीक्षा सम्मान वापत प्रदान गरिएको ‘सम्मान–पत्र’ कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाबाट कबा–नालाङ साहित्य पुरस्कार, २०७८ शिक्षा सेवा पदक, २०६७, गोकर्णेश्वर गगरपालिका काठमाडौँद्वारा वि. सं. २०७८ मा आयोजित बृहत् राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरी नगद पुरस्कार तथा प्रमाणपत्र, भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपाल हेटौँडाका तर्फबाट नगद पुरस्कार तथा प्रमाणपत्रसहित चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०७९ दैवी प्रकोप पीडितोद्धार पदक तथा दीर्घ सेवा पदक लगायत विभिन्न सम्मान पुरस्कारबाट सम्मानित व्यंग्यकार एवम् साहित्यकार बासुदेव गुरागाई पिडालु पण्डितसँग सहीखबरका लागि आरपी गुरागाईले गरेको साहित्यिक कुराकानीः–
- सहीखबरमा तपाईंलाई हार्दिक स्वागत छ ।
मलाई सम्झना गरी साहित्यिक कुराकानीका लागि निम्त्याउनु भएकोमा सर्वप्रथम त प्रश्नकर्ता तपाईं स्वयं र सहीखबरलाई हृदयतः धन्यवाद दिन्छु ।
- अचेल केमा व्यस्त हुनुहुन्छ ?
व्यस्तता आफैंमा सिर्जना हुने विषय होइन । यो त जुन विषयवस्तुमा संलग्न हुँदा आफूलाई मानसिक सन्तुष्टि मिल्छ र सकारात्मक सक्रियता बढ्छ त्यस्ता कुरामा आपूmलाई आफैंले व्यस्त गराउने हो । लामो समयदेखि मेरो रुचिको विषय साहित्य । उमेर हदका कारण नेपाल सरकारको सेवाबाट निवृत्त भएपछि म नेपाली साहित्यलाई सानोतिनो सहयोग पुगिहाल्छ कि भनेर त्यसैको श्रीवृद्धिमा आफूलाई संलग्न गराइराखेको छु । यस क्रममा विभिन्न साहित्यिक गतिविधिमा सहभागिता जनाउने र लेखन तथा प्रकाशनको कामलाई पनि निरन्तरता दिइरहेको छु । यस किसिमको व्यक्तिगत विषयभन्दा अलिक अगाडि बढेर म ‘दुप्चेश्वरः साहित्य र पर्यटनको साझा अभियान’ मूल नारा रहेको दुप्चेश्वर साहित्य समाजको काममा पनि समाजको अध्यक्ष समेतका नाताले सक्रिय रूपमा खटिइरहेको छु । उसो त फुर्सदका समयमा घरधन्दाका काममा श्रीमतीजीलाई सघाउन पनि म कञ्जुस्याइँ गरिरहेको छैन । जे जसो गरे पनि अहिलेसम्म समग्रमा सकारात्मक ढङ्गले मेरो समय व्यतीत भइरहेछ । खुसी छु ।

- साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
वि. सं. २०२८ सालको सुरुतिर, जतिखेर म काठमाडौँमा कक्षा आठमा पढ्थेँ, चामलको अभावमा भान्छा रोकिने स्थिति आउनै लाग्दा आत्तिएर सवाई छन्दमा जानीनजानी छ सातवटा चतुष्पदी श्लोक रचना गरेँ र दाजुलाई देखाएँ । रचना निकै मार्मिक थियो । उहाँ सकारात्मक हुनु भयो । त्यो कविता चिठीका रूपमा त्यतिखेरको हाम्रो घर नुवाकोट पठाएँ । त्यो चिठी पुगेको भोलिपल्टै घरबाट चामल आइपुग्यो । मेरो पहिलो रचना सायद त्यही थियो । अब म बेलाबेलामा यस्ता अक्षरसँग खेल्न थालेँ । अर्को वर्ष कक्षा नौमा पढ्दै गर्दा विद्यालयमा भएको कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेँ र केही कपी तथा सिसाकलम पुरस्कार पाएँ । त्यसपछि मेरो लेखन जेजस्तो भए पनि रोकिएन । तर, प्रकाशनका हिसाबले भने मेरो पहिलो कविता ‘स्वागत’ वि. सं. २०४४ सालमा मात्र कर्मचारी मिलन केन्द्र मुस्ताङले प्रकाशनमा ल्याएको ‘मुस्ताङ सन्देश’ नामक स्मारिकामा प्रकाशित भयो ।
- साहित्य लेखनमा कस्को प्रेरणाले लाग्नु भएको हो ?
ठुलो प्राज्ञिक उपलब्धि हासिल गर्न नसके पनि पुरानो समाजमा पढेलेखेको शिक्षित र धार्मिक परिवार हाम्रो । पढ्नुपर्छ भन्ने मान्यता राख्थ्यो । पढाउनुपर्छ भन्ने मान्यता राख्थ्यो । स्वस्थानी, श्रीमद् देवी भागवत, श्रीमद् भागवत गीता, दुर्गाकवच, प्रह्लादभक्ति कथा, भानुभक्त रामायणजस्ता थुपै्र धार्मिक पुस्तक थिए घरमा । आफ्नो रुचि र आवश्यकता अनुसार कसैले के पढ्थे, कसैले के । कोही मुखाग्र रामायण वाचन गर्थे कोही गीता । कोही देवी भागवतका श्लोक सुनाउँथे कोही प्रह्लादभक्ति कथाका । पढ्न नजान्नेहरू पनि सुनेकै भरमा मुखाग्र श्लोक वाचन गर्थे । सार कुरो, – अक्षरप्रति अगाध स्नेहभाव र लगाव थियो सबैमा । यही पृष्ठभूमिमै म कता कता थाहै नपाईकन साहित्य लेखनतिर लागेँजस्तो लाग्छ । उसो त जेठो दाजु रामप्रसाद पनि यदाकदा कविता र विभिन्न लेखहरू लेख्ने गर्नुहुन्थ्यो । त्यसले पनि मेरो लेखनलाई अझ अगाडि बढ्न प्रेरित ग¥यो भन्ने बुझाइ मेरो छ । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा पढ्न पाइने साहित्यिक सामग्रीले पनि मलाई यसतर्फ लाग्न कुत्कुत्याएको थियो ।
- साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
साहित्य सामाजिक घटना परिघटनाको प्रतिविम्ब हो । जहाँ दुःखका कुरा पनि हुन्छन्, सुखका कुरा पनि हुन्छन् । पे्रम र मिलनका कुरा पनि हुन्छन्, मनमुटाव र बिछोडका कुरा पनि हुन्छन् । साहित्यमा यो विषय ग्राह्य हुने र यो नहुने भन्ने हुन्न । समाजभित्रका समग्र विषयवस्तुको प्रतिविम्बन साहित्यमा उत्रिएको हुन्छ । तर, अभिव्यक्तिको माध्यम भने विविध हुन सक्छ ।
- साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
विधागत हिसाबमा कविता, कथा, निबन्ध, हास्यव्यङ्ग्य, भजन, गीत, सुसेली, नियात्रा, धर्मसंस्कृति, स्थान परिचयलगायतका विविध विधा र क्षेत्रमा जानीनजानी कलम चलाएको छु । केही मुक्तक पनि छन् तर ती पुस्तकाकार रूपमा आउन बाँकी छन् । माथिका जुनसुकै विधा र क्षेत्रमा कलम चलाए पनि मेरो लेखनीको मूल पहिचान भनूँ वा वैशिष्ट्यता भनेको हास्यव्यङ्ग्य नै हो ।

- साहित्यलाई अनुउत्पादक क्षेत्र भन्छन् नि रु तपाईको विचारमा के हो ?
साहित्य अनुत्पादक र उत्पादक दुवै हो मेरा विचारमा । अनुत्पादक यस अर्थमा कि साहित्यमा लागेर आर्थिक रूपमा समुन्नति हासिल गरेका मानिसको सङ्ख्या निकै न्यून छ भने मानसिक रूपमा सन्तुष्टिसहित बौद्धिक उपलब्धि हासिल गरेका तर आर्थिक हैसियत उकास्न नसकेकाको सङ्ख्या अत्यधिक छ । यसर्थ, जीवनको अन्तिम सत्य आर्थिक पक्ष मात्र हैन भनेर सोच्ने हो भने साहित्य जस्तो उर्वर क्षेत्र अरू छैन । यसरी निष्कर्ष निकाल्दा साहित्यलाई अनुत्पादक क्षेत्र भन्नेहरूको जमातमा म मिसिन चाहन्न ।
- तपाईंले पुस्तकहरू प्रकाशन गर्दै आउनु भएको छरु साहित्यिक पुस्तक प्रकाशनमा कतिको अफ्ट्यारो र चुनौती छ ?
हो, अहिलेसम्म विभिन्न विधा र क्षेत्रका साना ठुला गरी मेरा चौध थान पुस्तक प्रकाशित छन् । आधा दर्जन जतिको सङ्ख्याका पुस्तकका पाण्डुलिपिहरू अन्तिम रूप पाएर पनि तिनले अझै प्रकाशनको रहर पूरा गर्न सकिरहेका छैनन् । नढाँटी भन्नुपर्दा ती पुस्तकहरू अब मनकारी प्रकाशकको पर्खाइमा छन् । यसरी अरूको पर्खाइमा बस्नुपर्ने बाध्यता नै पुस्तक प्रकाशनका क्रममा आइपर्ने विभिन्न अप्ठ्यारा र चुनौतीकै कारणले हो । लेखन र छपाइ जति सजिलो छ, त्यत्तिकै अप्ठ्यारो छ बजार व्यवस्थापनको काम । अहिलेको समयमा साहित्य अध्ययनका लागि एकातिर मानिसहरूसँग समयको अभाव छ भने अर्कातिर साहित्य अध्ययन र अन्य मनोरञ्जनका लागि विविध वैकल्पिक साधन र माध्यम सरल तरिकाले उपलब्ध छन् । त्यसले पनि किताबी साहित्य अध्ययनमा मानिसको रुचि क्रमशः घट्दै गइरहेको छ । जहाँ पठनसंस्कृतिमा ह्रास आउन थाल्छ त्यहाँ पुस्तक प्रकाशन, वितरण र यसको अन्य व्यवस्थापन निकै चुनौतीपूर्ण हुन्छ । जति व्याख्या गरे पनि अक्षरको साधनामा लागेकाहरू अपवाद बाहेक सबैले यस परिस्थितिको सामना गरिरहेका छन् ।
- तपाईं विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ । यसलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ? आत्मसन्तुष्टि मिल्छ की मिल्दैन ?
कि रहर गर्नु हुँदैन, कि समयको व्यवस्थापन रहरकर्ता स्वयंले मिलाउन सक्नुपर्छ । सबै साहित्यिक तथा सामाजिक संस्थामा असार साउनको जस्तो चटारोका काम हुँदैनन् । बुझेका विषयमा कामको मेलो सक्न र समय व्यवस्थापन गर्न सजिलो हुन्छ । यसका लागि कति खट्ने भन्ने कुरो महत्वपूर्ण हो । खानपान र स्वास्थ्यले साथ दिन्छ भने जति सक्रिय भयो जिन्दगी त्यत्तिकै हरियो हुन्छ । सुत्तैmन । त्यसबाट आत्मसन्तुष्टि पनि पर्याप्त मिल्छ । तर, अर्थोपार्जनवादमा लागेकाहरूका लागि भने यो समस्याकै विषय बन्छ जस्तो लाग्छ । व्यक्तिगत कुरा गर्नुहुन्छ भने म आफू लागेको क्षेत्रमा पूरापूर सन्तुष्ट छु र सक्रियतापूर्वक लागिरहेकै पनि छु, र भ्याइरहेकै पनि छु ।
- साहित्यको आडमा राजनीति गर्नेहरूलाई के भन्नुहुन्छ ?
यस्तो अवस्था सर्वथा अवसरवाद हो । न तिनले शुद्ध मनले राजनीति गरेका हुन्छन्, न साहित्य सेवा । यस्ता झुन्डहरू जता अवसर पाइन्छ त्यतै झुम्मिन्छन् । न यिनमा कुनै साँचो नैतिकता हुन्छ, न कुनै सेवामुखी लगाव नै । यसरी प्राप्त अवसरमा तिनका मनले अल्पकालीन आनन्द त लेलान् तर साँचो मानसिक सन्तुष्टि तिनलाई पनि हुन्न । तसर्थ, यस्ता झुन्डका विषयमा कुरा गरेर समय खेर फाल्नु त्यति उपयुक्त जस्तो मलाई लाग्दैन ।
- मानव जीवनमा साहित्यको भूमिका कस्तो रहन्छ ?
जसरी राज्यको चौथो अङ्गका रूपमा पे्रस जगत्लाई लिइन्छ, त्यसरी नै मानव जीवनको चौथो आवश्यकताको रूपमा साहित्यलाई लिइनु उपयुक्त हुन्छ । मानव जीवनमा गाँस, बास, कपासपछिको चौथो आवश्यकता साहित्य हो, जसले मानवलाई सुख, शान्ति र सन्तुष्टि सबै दिन्छ । यसरी हेर्दा सुखी मानव जीवनका लागि साहित्य अपरिहार्य विषय हो । मानव जीवनमा साहित्यको अहं भूमिका रहन्छ ।
- अहिलेको नेपाली साहित्यलाई कसरी नियालिरहनुभएको छ ?
म यसलाई सकारात्मक रूपमा लिन्छु । नेपाली साहित्यमा पछिल्लो समय सिर्जनाको बाढी नै छ । कुनै न कुनै रूपमा यसले नेपाली साहित्य भण्डारलाई धनीै बनाएकै मान्नुपर्छ । यदि यहाँको प्रश्न गुणात्मक पक्षसँग जोडिएको हो भने त्यसमा पनि पर्याप्त आशावादी हुने ठाउँ छ । असन्तोष मान्नुपर्ने अवस्था म देख्दिन । पाकोपनको प्राप्ति बिस्तारै हुँदै जान्छ, आत्तिनु पर्ने अवस्था छैन ।
- अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा–साहित्यको स्थान कहाँनेर देख्नुहुन्छ ?
परभूमिमा बसेपछि मातृभूमिको माया अझै बढी लाग्छ । त्यो माया भनेको मातृभूमिको भेषभुषा, भाषा साहित्यप्रतिको मोह, धर्म संस्कृतिको जगेर्ना आदि जस्ता विषयमा अभिव्यक्त हुन्छन् । जसरी एउटी चेली पचासौँ वर्ष पराईघरमा बसिरहँदा पनि माइती घरको झिना मसिना सबै कुराको चर्चा गरिरहन्छिन्, त्यस्तै स्थिति अन्तर्राष्ट्रिय स्तरमा रहेबसेका नेपालीभाषीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति दर्शाएको म पाउँछु । विभिन्न सामाजिक सञ्जालले पनि यसमा अहं भूमिका खेलेका छन् । यसले भौगोलिक रूपमा टाढा भए पनि मानसिक रूपमा सबैलाई नजिक तुल्याएको छ । तसर्थ, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यको स्थान तुलनात्मक रूपमा गर्व गर्न लायक नै म देख्छु । तर एउटा कुरा नेपाली भाषाका साहित्यलाई विश्वका अन्य कतिपय भाषामा अनुवाद गर्ने क्रम भने सम्बन्धित भाषाको भाषिक क्षमता भएका महानुभावहरूबाट हुनु/गर्नु जरुरी देखिन्छ । यसो हुन सक्यो भने विश्वका कुनै पनि भाषीले नेपाली साहित्यको स्वाद लिन सक्ने छन् र नेपाली भाषा साहित्यले विश्वमा आप्mनो प्रभाव जमाउँदै जान सक्ने छ ।
- स्रष्टा, सिर्जना र सर्जकलाई प्रदान गरिने सम्मानरपुरस्कारप्रति तपाईंको धारणा के छ ?
जुन कुराको अपेक्षा गरिदैन त्यस्ता कुरामा मानिसको चासो रहन्न । त्यसैले म पनि यो सम्मान/पुरस्कारजस्ता विषयमा त्यतिविधि चासो राख्दिन । बजार हल्लाको कुरा गर्ने हो भने कतिपयले आफ्नै लगानीमा पुरस्कृत हुने गरेका छन् भन्ने पनि सुनिन्छ, यथार्थ के हो थाहा छैन । राष्ट्रिय स्तरका पुरस्कार भने निजामती पुरस्कार तथा पदक/तक्मा जस्तै गरी वितरण हुन्छन्/गरिन्छन् भन्ने हल्लाले पनि बजारमा ठाउँ पाएको छ । तर, नजिकबाट नबुझेका यस्ता कुरामा अनुमानका भरमा कसैलाई ठेस पुग्ने गरी खासै केही नबोलूँ जस्तो लाग्छ मलाई । कृपया, यसलाई अन्यथा नलिनु होला ।
- साहित्यिक स्रष्टाहरूको समाजप्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाज अरूको होइन आफ्नै हो । म, तपाईं र उहाँहरूको समग्र रूप समाज हो । साहित्यिक स्रष्टाहरूले आफू बसेको समाजप्रति अन्याय गर्न हुन्न । समाजमा देखिएको, समाजले चाहेको र समाजको हितका लागि आवश्यक कुरामा राजनीतिक वा अन्य कुनै पूर्वाग्रह मनमा नराखी साहित्यकारहरू प्रस्तुत हुन सक्नुपर्छ । क्षणिक स्वार्थ वा लाभहानीका विषयमा अल्झिएर साहित्यकारहरू अघि बढ्ने हो भने त्यो स्थिति समाजको समग्र विकासका लागि प्रत्युत्पादक बन्न सक्छ । यसबाट साहित्यकारहरू सर्वथा जोगिनुपर्छ । समाजप्रतिको दायित्वबोध उनीहरूमा भएन भने त्यो पनि राजनीतिक क्षेत्रजस्तै सधैँ अस्तव्यस्त भइरहन्छ र स्थिरता प्राप्त गर्न सक्दैनन् । यस स्थितिले नेपाली भाषाको उन्नयन र थप विकासमा ढिलाइ हुन्छ । यसर्थ, आफ्नो समाजिक हैसियतलाई पनि सदासर्वदा ख्यालमा राखेर सबै साहित्यकार यसतर्फ चनाखो हुनुपर्छ ।
- समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
सबैले भन्ने गरेका शब्द नै सापटी लिएर भन्नुपर्दा साहित्य समाजको ऐना हो । समाजको समग्र रूप साहित्यमा झल्किन्छ । हामीले मुलुकभित्र विभिन्न कालखण्डमा सिर्जना भएका साहित्यिक सामग्रीलाई समग्र अध्ययन गर्ने हो भने प्रस्ट रूपमा यसको झल्को पाउँछौँ । यसर्थ, नङ र मासुको सम्बन्ध जस्तो छ, समाज र साहित्यको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ । यस्तो सम्बन्धको अभावमा न समाजले गति लिन सक्छ, न साहित्यले । यसर्थ यी दुईको सम्बन्ध अपरिहार्य छ ।
- साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
छोटकरीमा आत्मसन्तुष्टि । समाजले नराम्रा ठानेका लतबाट सर्वथा उन्मुक्ति । तीन चार वर्षका उमेरदेखि सम्पर्कमा आएका अक्षरसँगको चिनाजानी र मित्रतामा निरन्तरता । देखेसुनेका र भोगेका विषयमा निर्धक्क अभिव्यक्ति । समाजका सत्पात्रहरूसँग सम्पर्क र भलाकुसारी । साङ्केतिक रूपमा यति भनेपछि यसभन्दा बढी व्याख्या गरिरहनु पर्ला जस्तो लाग्दैन ।
- पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
साहित्यका किताबी पाठक सर्लक्कै घटेका छन् भन्ने म ठान्छु । विभिन्न कोणबाट यस्तो स्थिति मैले प्रत्यक्ष रूपमा अनुभव गरेको छु । त्यसमाथि किनेर पढ्ने सङ्ख्या त अझै न्यून । संसार चिन्ने, जान्ने पर्याप्त विकल्पहरू उपलब्ध भएकाले पनि यो स्थिति आइलागेको भन्ने जस्ता मत राख्नेहरू पनि यहाँ पर्याप्त पाइन्छन् । यस्ता मतमा विमति जनाउनु पर्छ जस्तो मलाई पनि लाग्दैन । अनि, पाइला पाइलाका राजनीतिक आशा र भरोसाका गफले पनि मानिसहरू त्यस्तै गफमा रुमलिन र रमाउन थालेका पनि देखिन्छन् । भरखर जुँगाका रेखी बसेकादेखि कालो जुँगा बाँकी नभएकासम्म सबैका सबै राजनीतिक गफ गर्ने भएपछि विनालगानीमा धेरैको आकर्षण त्यसतर्फ बढेको देखिन्छ । यी र यस्तै समग्र कारणले पठन संस्कृतिमा ह्रास आएको कुरालाई नकार्न सकिन्न ।

- पछिल्लो समय बुढयौली साहित्यबाट साहित्यिक गतिविधी हुने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
जुन कुरा अति आवश्यक थियो त्यो कुरा गर्न थालिएको छ । सरोकारवालाहरूलाई धन्यवाद छ । यो असाध्यै सकारात्मक कुरा हो । यसमा साहित्यिक व्यक्तित्वहरूको मात्र सहयोग र सद्भाव नभएर स्थानीयदेखि सङ्घीय सरकारसम्मको पनि पर्याप्त सहयोग जरुरी छ । सरकारबाट हुने यस्ता सहयोग सामाजिक सुरक्षा भत्ताभन्दा पनि बढी प्रभवकारी हुन्छन् भन्ने म ठान्छु । वर्तमानमा बुढ्यौली साहित्य समाजको आजीवन सदस्य समेत रहेको बौद्धिक रूपमा म जस्तो निम्छरो व्यक्ति पनि निकट भविष्यमै बुढ्यौलीसँग सम्बन्धित केही विषयलाई विम्ब बनाएर पुस्तकाकार रूपमा एउटा कृति प्रकाशनमा ल्याउने जमर्को गर्दै छु । यस जमर्कोमा मैले केही साथीहरूबाट सहयोगको अपेक्षा पनि गरिरहेको छु । यसमा बुढाहरूको मात्र चासोको विषय रहन्न । वर्तमानका बुढाभन्दा भविष्यका बुढाले बढी ख्याल गर्नुपर्ने विषय र प्रस्तुति रहने छन् यसमा । तर एउटा सत्य कुरा के हो भने यसबाट बुढाहरूले सकारात्मक लाभचाहिँ लिनैपर्छ ।
- अरु कुनै विधामा पुस्तक प्रकाशनको तयारी गरिरहनु भएको छ कि ?
माथिल्लो जिज्ञासामा उल्लेख गरिएको बुढ्यौलीसँग सम्बन्धित साहित्य बाहेक मसँग विभिन्न पत्रपत्रिकामा प्रकाशनमा आइसकेका केही दर्जन हास्यव्यङ्ग्य निबन्ध छन् । तिनलाई एकीकृत गरेर पुस्तकाकार रूपमा ल्याउनै पर्ने अवस्था छ । समाजपरक, व्यङ्ग्यपरक र अन्य गरी झन्डै दुई सयको सङ्ख्यामा लघुकथाहरू (केही दर्जन विभिन्न पत्रपत्रिकामा प्रकाशित समेत भइसकेका) छन् । तिनलाई पनि लुकाएर राख्न म चाहन्न । उसो त केही सयको सङ्ख्यामा मुक्तक छन्, कविता छन्, सुसेली छन्, बालकथा छन् । एक थान सामाजिक उपन्यास पनि प्रकाशनको पर्खाइमा छ । यिनलाई पनि मैले लुकाएर राखेँ भने भविष्यमा मलाई यिनको सराप लाग्छ । त्यसतर्फ म सहज उपायको खोजीमा छु ।
अन्त्यमा केही…..?
हजारौँ शब्द ओकलेर म दुई शब्द यहीँ टुङ्ग्याउँछु भन्ने भाषण जस्तो मेरा भनाइ प्रायः सबै माथि आइसके । खासै अरू भन्नुपर्ने कुरा केही छैन । तथापि थप एउटा कुराचाहिँ वार्ताको टुङ्ग्याउनी अघि भन्नैपर्छ । त्यो के भने, – ‘साहित्य सिर्जना कुनै पनि वाद र पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ । गुटउपगुटको स्थिति साहित्य र साहित्यकारका लागि शोभा दिने विषय होइन । यसतर्पm पनि प्रबुद्ध साहित्यकारहरूले समयमै ध्यान दिनु जरुरी छ । कुनै पद, सम्मान वा अरू केही पाउँला भनेर कोही अघि पढ्छ भने त्यस्तो अवस्था अन्ततोगत्वा कसैको पनि हितमा हुँदैन ।’
र, छुटाउन नहुने अर्को कुरो, – ‘साहित्यिक भलाकुसारीको यो सुखमय सुनौलो अवसर जुटाइदिएकोमा सहीखबरलाई हृदयतः धन्यवाद ।’