मकवानपुर । मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौ अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै शेर्पाले अन्तिम ८ मा प्रवेश पाएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको चौथो खेलमा शेर्पाले बागमतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरे । वागमतीको तर्फबाट सनम धिमालले ६५औ मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे ।
बुधबार प्रतियोगिताको पाचौ खेल एभिनर एफसी क्यामरुन र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ । विरगन्ज युथले सोमबार एनाआरटी क्लब काठमाडौलाई पराजित गरेको थियो । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन क्लब, एक अन्तराष्ट्रिय क्लब र ४ मोफसलका टीमले सहभागिता जनाएका छन ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।