मकवानपुर । मकवानपुर दुग्ध उत्पादक संघले किसानलाई प्रतिलिटर कम्तिमा १४ रुपियाँका दरले दुधको मुल्य बढाउने तयारी गरेको छ ।
११ हजार दुग्ध उत्पादक किसान आबद्ध रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले किसानलाई दुधको मूल्य बढाउने भएको हो । दुधको लागत मुल्य अनुसार हाल प्रति लिटर ३ रुपैयाँ पनि बचत नभएको भन्दै संघले कृषकको लागि आगामी १ गतेबाट दुधको मुल्य बढाउने भएको हो । संघले लामो समयदेखि सरकारलाई दुधको मुल्य बढाउन दबाब दिंदै आएको तर, सरकारले सुनुवाई नगरेपछि आफैंले मुल्य निर्धारण गरेर अघि बढ्न लागेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए । प्रति लिटर कम्तिमा १४ रुपियाँ मुल्य बढाउन सरकारसंग संघलेमाग गर्दै आएको छ ।
“आगामी १ गतेबाट हामी हाम्रा किसानलाई हामीले निर्धारण गरे अनुसारको मुल्य दिन्छौ, हामीबाट दुध किन्ने डेरी उद्योगहरुलाई पनि सोही दर कायम गर्छौ, उहाँहरु राजि भए दुध लैजानु हुन्छ, अन्यथा हामी हाम्रो उत्पादन आफैं व्यवस्थापन गछौं” अध्यक्ष कंडेलले भने । संघले आज एक विज्ञप्ति जारी गर्दै अहिले उठाएको मागबारे सरकारको ध्यानाकर्षण नभएमा आन्दोलनमा उत्रने धम्कि दिएको छ ।
मकवानपुरको संघ अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक हाल ११ हजार परिवारको दूध संकलन हुँदै आएको छ । औपचारिक क्षेत्रमा करिव दैनिक ४० हजार लिटर दूध संकलन हुन्छ र दुधबाटै २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ जान्छ ।
किसानहरुलाई दुधमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पि समेत बाह्य मुलुकमा निर्यात भैरहेकोमा हाल कच्चा दूधको मूल्य बृद्धि नहुँदा समस्या भएको कंडेलले बताए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक वृद्धि हुँदा समस्या बढेको उनलेब ताए ।
कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको उनले बताए ।
“व्यवस्थित एवम सक्षम समाजको स्थापना पशुपालनमा व्यापक सहकारीता ल्याउने हाम्रो मुख्य चाहाना” भन्ने नाराका साथ किसान हितमा आफूहरु लागेको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए । हाल दुधमा सरकारले तोकेको समर्थन मुल्य ५६ दशमलब ४ रुपियाँ हो । यो दरमा किसानले सहकारी संस्थामा दुध बेच्दा औषत ६० रुपिया प्रतिलिटर पाइरहेका छन् । यो मुल्यमा १४ वा १५ रुपियाँ बृद्धि गर्नुपर्ने माग संघको रहेको व्यवस्थापक दाहालले बताए ।