मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपकबहादुर सिंहको उपस्थितिमा गायक प्रकाश सपुतले माहौल तताए।
महोत्सवमा राज्यमन्त्री सिंहको प्रमुख आतिथ्यता रहेको थियो । उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै समग्र उद्योग, व्यापार र व्यवसाय विद्युत लोडसेडिङले पर्ने असर न्यूनीकरण गरिने बताए । गलबन्दी च्यातियो…, पीर दियो…, कुरा बुझ्नु पर्छ…लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गरेका सपुतले धमकेदार सांगीतिक प्रस्तुती दिएका थिए । सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका थिए । महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए ।
युवापुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो ।
भोली बुधबार युवापुस्ताका मनपर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई, गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारको प्रस्तुती रहने महोत्सवका कलाकार/मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
सोमबार महोत्सवमा बाल गायक अशोक दर्जी र टंक बुढाथोकी, कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्द्धकको रुपमा रहेको महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङका स्टल रहेका छन ।
यस्तै मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
माघ ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । बुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।