- रघुराम पराजुली
विषय प्रवेशः
जडीबुटी जैविक विविधताको एक महत्वपूर्ण पक्ष हो . जसको सदुपयोगबाट आर्थिक विकासमा समेत टेवा पुग्न सक्छ । जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती विस्तार, व्यवसायीकरण र दिगो व्यवस्थापनबाट विपन्न तथा पहुँचहीन नागरिकका लागि आयआर्जनमा समेत सहयोग पु¥याउन सकिन्छ ।
बागमती प्रदेशको राजधानी र भौगोलिक विविधताले भरिपूर्ण मकवानपुर जिल्ला वानस्पतिक विविधतामा पनि धनी रहेको छ । जहाँ जडीबुटी तथा सुगन्धित वनस्पतिको सही व्यवस्थापनबाट मनग्य लाभ लिने सम्भावना रहेको छ । जडीबुटी÷गैरकाष्ठ वन पैदावार नै किन < सही ज्ञानको अभावमा हाम्रा बहुमूल्य जडीबुटी तथा सुगन्धित वनस्पति यसै खेर गइरहेका छन् । औषधी तथा विभिन्न उत्पादनको रूपमा तिनै स्रोतका उत्पादन आयात गर्न ठूलो धनराशी बाहिर पठाइरहेका छौं ।
बिरुवाका पात, काण्ड, जरा, फूल, फल, बोक्रा, बिउ, खोटो, चोप, तेल आदि भाग गैरकाष्ठ वनपैदावारका रूपमा बिक्रीवितरण हुने गर्दछन् । गाँस, बास तथा कपासजस्ता आधारभूत आवश्यकता पनि गैरकाष्ठ वन पैदावारमा नै आधारित रहेका छन् । खाना, डालेघाँस, औषधी, मसला, रंगरोगन, सौन्दर्य, निर्माण सामग्री तथा अन्य प्रयोजनका लागि कच्चा पदार्थ गैरकाष्ठ वन पैदावारबाट नै प्राप्त हुन्छन् । तसर्थ, यी बहुमूल्य निधिको वैज्ञानिक अध्ययन, अनुसन्धान, खोजी एवं विश्लेषण गरी दिगो विकासमा सघाउने गरी ठोस कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा जुट्नु आवश्यक छ, जसबाट नेपाललाई समृद्धिको दिशामा डो¥याउन मद्दत पुग्नेछ .
वन, वनस्पति र जडीबुटीः
नेपालमा ११८ प्रकारका पारिस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय उपलब्ध छन् । वनको मौज्दातको हिसाबले नेपालमा पाइने मुख्य प्रजातिमा साल, खस्रु, खोटे सल्ला, गुराँस, साज, ठिंग्रे सल्ला, गोब्रे सल्ला, उत्तीस, चिलाउनेलगायतका वनस्पति प्रजाति पाइन्छन् । नेपालमा करिब २००० प्रजातिका विभिन्न वनस्पति गैरकाष्ठ वन पैदावारको रूपमा पहिचान भएका छन् ।
व्यापारमा जाने ७० प्रतिशत वनस्पतिका प्रजाति जङ्गली अवस्थामा सङ्कलन गर्ने गरिएको छ । कूल निर्यात हुने वनस्पतिमध्ये ९० प्रतिशत भन्दा बढी बिना प्रशोधन कच्चा पदार्थको रूपमा विभिन्न देशमा निर्यात हुने गरेको छ । नेपालमा करिब १२ हजार वनस्पति पहिचान भएका छन् । करिब ३० हजारभन्दा बढी समूहमा आधारित वन समूह क्रियाशील रहेका छन् । करिब २० हजार वनमा आधारित उद्योग रहेका छन् भने करिब २ हजार वनस्पति जडीबुटीजन्य रहेका छन् । प्राथमिकता प्राप्त जडीबुटी नेपालको आर्थिक विकास र खेती प्रविधि अनुसन्धानका लागि वनस्पति विभागले विभिन्न जडिबुटीलाई प्राथमिकतामा राखेको छ ।
जसमा खेती प्रविधि अनुसन्धान कार्यका लागि प्राथमिकतामा रहेका जडीबुटी पाँचऔले, जटामसी, कुट्की, पिपला, सर्पगन्धा, चिराइतो, लौठ सल्ला, गुर्जो, गुच्ची च्याउ, यार्सागुम्वा, सतुवा, काकोली, कालो मुसली र नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटी अतीस, अमला, ओखर, कुट्की, गुच्ची च्याउ, गुर्जो, चिराइतो, जङ्गली सयपत्री, जटामसी, झ्याउ, टिमुर, तेजपात, धसिंग्रे, नीम, पदमचाल, पाषणभेद, पाँचऔले, पिपला, विष, बोझो, भ्याकुर, मजिठो, यार्सागुम्बा, रिठ्ठा, लघुपत्र, लौठसल्ला, सुगन्धवाल, सुगन्धकोकिला, सतावरी, सर्पगन्धा, सतुवा, काकोली, कालो मुसली रहेका छन् ।
जडीबुटीसम्बन्धी नीतिगत प्रावधान संविधानको धारा ५१ (छ) मा जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधानको व्यवस्था गरेको छ । वन नीति, २०७५ मा उपलब्ध वन वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नु प्रमुख चुनौती उल्लेख गरिएको छ ।
नेपाल दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्ष राष्ट्र पनि रहेको छ । वनस्पतिको लागि वनस्पति विभाग वैज्ञानिक निकाय हो । वनस्पति विभागले १३ वटा जडीबुटी खेती तथा अनुसन्धानका लागि र ३३ वटा जडीबुटी नेपालको आर्थिक विकासका लागि प्राथमिकतामा राखेको छ । वनस्पति विभागअन्तर्गत रहेका ११ वटा वनस्पति उद्यानमा समेत महत्वपूर्ण वनस्पतिको स्वस्थानीय (In-situ Conseravtion) तथा परस्थानीय (Exsitu Conseravtion) संरक्षण भइरहेका छन् ।
यसका अलावा महत्वपूर्ण जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती प्रविधि विकासका कार्य पनि सञ्चालनमा रहेका छन् । उपयोगी भागका आधारमा व्यापारमा रहेका गैरकाष्ठ वन सर्पगन्धा ज्ञठ डिभिजन वन कार्यालय राप्ती, मनहरी, मकवानपुरको प्रकाशन वातावरण शिक्षा (विद्यालयका नानीबाबुमा समर्पित) पैदावारलाई वर्गीकरण गरिएको छ । जरा तथा गानो जातिमा ७४ प्रजाति, बोक्रा जातिमा ३३ प्रजाति, पात÷डाँठ जातिमा ४६ प्रजाति, फूल र भूवा जातिमा १८ प्रजाति, फल र बीउ जातिमा ९० प्रजाति, पूरै विरुवा जातिमा ४७ प्रजाति, गम, रेजिन र लोहावान जातिमा १० प्रजाति गरी कूल ३१८ प्रजातिका गैरकाष्ठ वन पैदावारको व्यवस्था वन नियमावली २०७९ (अनुसूची ७) ले गरेको छ ।
जडीबुटीको व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७ अनुसार जडीबुटी खेतीका लागि छनौट गरिएका प्रजातिमा बाग्मती प्रदेशमा धसिङ्गरे, सुनपाती, सतुवा, लौठसल्ला, चिराइतो पर्दछन् । मकवानपुरमा जडीबुटी तथा सुगन्धित वनस्पतिको अवस्था हावापानीको हिसाबले मकवानपुर जिल्ला उष्णदेखि समशितोष्ण हावापानीमा विभाजित रहेको छ । जहाँ उष्ण प्रदेशमा साल, हर्रो, वर्रो, साज, खयर, सिसौ, सिमल, अमला, कुरिलो, सर्पगन्धा, बेल, बर, पीपल शमीलगायतका वनस्पति पाइन्छन् ।
उपोष्ण हावापानीमा चिलाउने, कटुस, मौवा, रानी सल्ला, धयरो, उत्तिस, अमला, कुरिलो, पानि अमला, उन्यू, मलातोलगायतका वनस्पति प्रजाति पाइन्छन् । यसैगरी समशीतोष्ण हावापानीमा गुराँसका प्रजाति, काफल, बलु, अँगेरी, बाँझ, फँलाट, खस्रु, चिराइतो, लौठसल्ला, पाखनवेद, मजिठो, देवदार, एजेलियालगायतका वनस्पति पाइन्छन् । मकवानपुर जिल्लामा तराई क्षेत्रको हर्राे, बर्राे, अमला, तेजपात, कालो हलेदो, नीम, कुरिलोदेखि मध्यपहाडी क्षेत्रमा पाइने सतुवा, लौठसल्ला, जेठीमधु, लघुपत्र, टिमुर, धसिङ्गरे, मजिठोजस्ता महत्वपूर्ण प्रजाति र ६० भन्दा बढी प्रजातिका महत्वपूर्ण सुनाखरी पाइने विभिन्न अध्ययनले पनि देखाएका छन् ।
मकवानपुरमा संरक्षित क्षेत्रअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको १३.९२ वर्ग कि.मि. र पर्सा राष्ट्रिय निकुञ्जको १९२.१५ वर्ग कि.मि. गरी जम्मा २०६.०७ वर्ग कि.मि. क्षेत्रफल मध्यवर्ती क्षेत्रमा पर्छ । यस क्षेत्रमा हर्रो, बर्रो, अमला, सर्पगन्धा, मेन्था कुरिलोलगायतका जडीबुटीको खेती गर्ने सम्भावना देखिएको छ । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरबाट गरिएको एक अध्ययनअनुसार जिल्लामा १९४ प्रजातिका औषधिजन्य जडीबुटी रहेको पाइएको छ । विगत केही वर्षको तथ्याङ्कलाई आधार लिँदा ३१ प्रजातिका जडीबुटी व्यापारमा रहेको पाइयो । यसरी व्यापारमा रहेका जडीबुटी पनि प्रायः वनजङ्गलबाट नै सङ्कलन हुने र केही निश्चित प्रजातिको भने खेती गरिएको पाइयो ।
जिल्लाको विभिन्न क्षेत्र फापरबारी, राईगाउँ, शिखरपुर, छतिवन, फुर्केचौर, ठिङ्गन, गढी, टिष्टुङ, पालुङ, मनहरी, चौघडा, बस्तीपुर, कोगटे, इपा, दामन, सिस्नेरी, सान्नानीटारलगायतका क्षेत्रबाट सङ्कलन गरिएका जडीबुटी स्थानीय व्यापारी, जिल्लास्तरका व्यापारी र निर्यातकर्ता हुँदै मुख्यतयाः भारततर्फ निकासी हुने गरेको पाइयो ।
तथ्याङ्कअनुसार कुरिलो, कालीकाठ, सतुवा, लघुपत्र, टटेलोको व्यापार परिमाणात्मक हिसाबमा अगाडि रहेको पाइयो । केही प्रजातिको प्रशोधनपश्चात् व्यापारमा जाने गरे पनि समग्र जडीबुटीको बजारीकरण र व्यापारीकरणमा कच्चा पदार्थको बाहुल्यता रहेको पाइयो । खासगरी लौठ सल्ला र चुत्रोको औद्योगिक स्तरमा प्रशोधन चलिरहेको भए पनि धसिङ्ग्रे, ओलिभजस्ता अन्य केही जडीबुटी केही समय अघिसम्म प्रशोधनपश्चात् बजारमा जाने गरेकोमा हाल आएर यथेष्ठ कच्चा पदार्थको अभावमा बन्द हुन पुगेको पाइयो । सरकारी÷गैरसरकारी निकायले जडीबुटीको क्षेत्रमा खेलेको भूमिका मकवानपुर जिल्लामा जडीबुटीको व्यवस्थापनसँग सम्बन्धित मुख्य संस्थामा वनस्पति अनुसन्धान केन्द्र र दुईवटा डिभिजन कार्यालय रहेका छन् ।
यसबाहेक यो क्षेत्रमा सरोकार राख्ने अन्य निकायमा स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र विभिन्न गैरसरकारी संघ/संस्था, निजी किसान, विभिन्न कृषि फर्म, साना, मध्यम तथा ठूला व्यापारीको पनि प्रत्यक्ष, परोक्ष संलग्नता रहेको देखिन्छ । डिभिजन वन कार्यालयले वनस्पतिका अतिरिक्त, कानुनी, वन, वन्यजन्तु संरक्षण र अन्य व्यवस्थापकीय काम समेत गर्ने हुनाले वनस्पति, जडिबुटीको अध्ययनमा वनस्पति अनुसन्धान केन्द्रले नेतृत्व गरेको छ ।
मकवानपुरमा रहेका ३ वटा कार्यालय वृन्दावन, दामन र टिस्टुङमा रहेका कार्यालयले अध्ययन, अनुसन्धान र बजारीकरणमा सहयोग पु¥याएका छन् । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले स्थापना कालदेखि नै जडीबुटीजन्य वनस्पतिमा निरन्तर रूपमा अध्ययन, अनुसन्धान गरी कृषकलाई यसको खेतीतर्फ अग्रसर गराउन समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गरी प्राविधिक तथा आर्थिक सहयोगका कार्य सञ्चालन गर्दै आइरहेको छ । जडीबुटी खेती विकास तथा विस्तारका लागि नर्सरी व्यवस्थापन र विरुवा उत्पादन कार्यक्रम सञ्चालन गरी पकेट क्षेत्रमा जडीबुटी नर्सरी व्यवस्थापन, मर्मत र सञ्चालनजस्ता कार्य गर्दै आएको छ ।
त्यसैगरी वन/वनस्पति विकासमा संलग्न मान्यता प्राप्त संघ÷संस्था तथा व्यक्तिलाई पुँजीगत अनुदान उपलब्ध गराउने कार्यक्रम जस्तै सामुदायिक तथा सार्वजनिक जग्गामा संघ÷संस्था समुदायलाई ढुवानी, वृक्षरोपणमा सहयोग अनुदान, निजी जग्गामा रोपणका लागि गरिब तथा विपन्न वर्गलाई ढुवानी तथा वृक्षरोपण सहयोग अनुदान सञ्चालन गर्दै आएको छ । यसका साथै ‘एक गाउँ एक उत्पादन’का लागि गुणस्तरीय विरुवा उत्पादन तथा वितरण, पकेट क्षेत्रमा सामुदायिक, सार्वजनिक, कृषि, वन समूह जडीबुटी उद्यमी, सहकारी सदस्य र सम्बन्धित सरोकारवालालाई जडीबुटी तथा आयमूलक खेती र वन उद्यमसम्बन्धी अवलोकन भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरी कृषकलाई जडीबुटी खेतीतर्फ ऊर्जावान्वित बनाउन सहयोग गर्दै आइरहेको छ ।
पछिल्लो समयमा नेपालबाटै लोप भयो भनेर आशङ्का गरिएको दुर्लभ वनस्पति भोटेलहरा मकवानपुरको बकैया, मनहरी र बागमतीमा यस अनुसन्धान केन्द्रको अगुवाइमा फेला पारि यसको संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् भने भोटेलहराको प्रजनन अनुसन्धान कार्यलाई पनि अगाडि बढाइएको छ । यसैगरी वन कार्यालयले आफ्नो नियमित कार्यक्रमअन्तर्गत विभिन्न जडिबुटीका बिरुवा उत्पादन, वृक्षरोपण, वितरण, प्रशोधनलगायतका काममा अनुदान समेत दिने गरेका छ ।
जडीबुटी प्रवर्धनमा युवा, विद्यार्थीले खेल्नसक्ने भूमिका हरेक क्षेत्रमा युवाको सकारात्मक पहल, साथ, समर्थन र सहयोग हुन सक्यो भने ती क्षेत्र सफल बन्ने गरेका थुप्रै उदाहरण छन् । दैनिक हजारौं युवा खाडीलगायतका मुलुकमा रोजगारीका लागि धाउने गरेको कुरा जगजाहेर छ । विदेशमा सबैले राम्रै काम पाउँछन् भन्ने पनि छैन । कतिपय मुलुकमा अति नै तल्लो स्तरको काम गर्नुपरेको र निच व्यवहार सहनुपरेका घटना सञ्चारमाध्यमा आइरहेकै हुन्छन् । तसर्थ, युवा तथा विद्यार्थीलाई के, कसरी स्वदेशमा नै स्वरोजगार बनाउन सकिन्छ या उत्पादनशील कार्यमा आकर्षण गराउन सकिन्छ भन्नेमा संयमित बनी उपयुक्त नीति तथा कार्यक्रम ल्याइनु जरुरी हुन्छ ।
जडीबुटी यस्तो क्षेत्र हो, जुन सबै स्थान, क्षेत्र र तहमा गर्न सकिन्छ । यसका लागि अति नै विशेष खालको प्राविधिक ज्ञान, सीप आवश्यक पर्ने पनि होइन । आवश्यक ज्ञान तथा सीप सहजै र निःशुल्क वनस्पति अनुसन्धान केन्द्र एवं वन कार्यालयले उपलब्ध गराइरहेको हुन्छ । नजिकका डिभिजन वन कार्यालय र मातहतका कार्यालयबाट पनि यससम्बन्धी सामान्य जानकारी लिन सकिने हुन्छ । थोरै लगानी, सामान्य मेहनतबाट धेरै फाइदा लिन सकिन्छ र आयआर्जन गर्न सकिन्छ, जसबाट स्वरोजगार र उद्यमी बन्ने अवसर हाम्रा पाखापखेरामा रहेको छ ।
यसबाट एकातिर खेर गइरहेको जमिनको उपयोग हुन्छ भने अर्कोतर्फ पढ्दै कमाउँदै भन्ने सरकारको नीतिको पनि सफल कार्यान्वयन गराउन सकिन्छ, जसबाट व्यक्ति, परिवार हुँदै समाजलाई नै उत्पादनशील कार्यको नमुना पस्किन सकिन्छ ।
निष्कर्षः
चरिचरण, वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भूक्षय, बाढी, पहिरो तथा पूर्वाधार निर्माण तथा विकासलगायतका गतिविधिले महत्वपूर्ण वनस्पतिको प्राकृतिक उपलब्धतामा नै दख्खल पार्न सक्छ । एकातिर जमिनको उपयोग हुने र अर्कोतर्फ रोजगारी समेत सिर्जना हुने अवसर भएकाले जडीबुटीलाई सही ढङ्गबाट व्यवस्थापन गरिनुपर्दछ ।
सामान्य रोजगारीका लागि समेत विदेशिने परिपाटी रोक्नका लागि पनि जडीबुटीको प्रवर्द्धन जरुरी देखिन्छ । अन्य कृषि बाली नहुने पाखो पखेरा, खोल्साखोल्सीमा समेत जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती गर्न सकिने हुँदा भूउपयोग पनि गर्न सकिने र आयआर्जन समेत गर्न सकिने भएकाले यस कार्यलाई प्राथमिकतामा राख्नु आवश्यक छ । संघ, प्रदेश तथा स्थानीय तहको आपसी समन्वय र सहकार्यमा यस्ता कार्य बढी प्रभावकारी बन्न सक्छन् ।
मकवानपुर जिल्लामा यहाँको भौगोलिक विविधता सिर्जित वनस्पति विविधता पनि बृहत रहेको छ । यसमध्ये पनि जडीबुटी क्षेत्र बढी नै संभावना बोकेको क्षेत्र हो । यहाँ संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सबल समन्वय गरी जडीबुटी क्षेत्रको प्रवर्द्धन गर्ने ठूलो अवसर पनि रहेको छ ।
(पराजुली, वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा वरिष्ठ वैज्ञानिक अधिकृत पदमा कार्यरत छन् । याे लेख डिभिजन वन कार्यालय राप्ती मकवानपुरद्वारा प्रकाशित वातावरण शिक्षा पुस्तकबाट लिइएकाे हाे । )