मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आइतबार ल्हाेसारकाे शुभकामना दिएका हुन ।
प्रदेश प्रमुख शर्माले एक सन्देश जारी गर्दै ल्हाेसार पर्वले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना दिएका छन् । सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने पर्व भएको प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रदेश प्रमुख शर्माको शुभकामनामा भनिएको छ, ‘नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनु हुने दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको बताउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताए ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तामाङ्ग समुदायहरुको महान पर्व सोनाम ल्होछार (२८५९) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ्ग समुदायका दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।
‘मञ्जुश्री पात्रो अनुसार पहिलो महिनाको पहिलो दिन अर्थात् नयाँ वर्ष २८५९ ( खरायो वर्ष) शुरुवातको दिन माघ शुक्ल प्रतिपदादेखि मनाईने सोनाम ल्होछार पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ’ साेनाम ल्हाेसारकाे अवसरमा आइतबार मुख्यमन्त्री जम्कट्टेलले शुभकामना सन्देश जारी गर्दै भनेका छन् ‘नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिको रुपमा रहेका यस किसिमका मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको हुँदा यस तर्फ तीनै तहका सरकारको ध्यान जाने विश्वास समेत गरेको छौं ।’
‘विशेष गरी तामाङ्ग जातिहरुको बाहुल्यता रहेको बागमती प्रदेश भित्र तामाङ्ग समुदायले यस पर्वलाइ नयाँ वर्षको रुपमा मनाइरहँदा यस पर्वले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मुल्य मान्यता प्राप्त गरेको महशुस गरेका छौं’ उनले सन्देशमा भनेका छन् । ‘प्रदेश भित्र बसोबास गर्ने जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नका लागि आवश्यक सहयोग गर्न बागमती प्रदेश सरकार सदैव तयार रहने विश्वास समेत दिलाउन चाहन्छौं’ उनले भने ।
सोनाम ल्होछार पर्वले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भै समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्ने कामना गर्दै यस पर्वले सबै नेपाली बिच सामाजिक एकता सुदृढ गर्दै उत्साह र उमङ्गका साथ देशमा शान्ति सद्भाव र धार्मिक सहिष्णुता कायम गरी लोककल्याणकारी राज्य स्थापन गर्दै समृद्ध नेपाल, समुन्नत बागमती प्रदेश निर्माण गर्ने लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री जम्कट्टेलले जारी गरेकाे शुभकामना सन्देशमा भनिएकाे छ ।

