मकवानपुर । बागमती प्रदेशमा सरकार गठनको लागि आह्वान भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार दिउँसो ४ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट आव्हान भएको हो ।
शर्माले सरकार गठनको लागि आज यस्तो आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
यसै अनुसार आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले मंसिर २९ को निर्णयानुसार मिति पुस २ गते पेश भएको थियो ।
