मकवानपुर । पुस १५ गते आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसारलाई नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आजबाट बादर वर्षलाई बिदाइ गर्दै चरा वर्षको स्वागतमा नयाँ वर्ष मनाउदै ल्होसार मनाइदै छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
ल्होसारमा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।
मकवानपुर सहित अन्य जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले पनि तमु ल्होसार कार्यक्रम गरि मनाउदै छन ।