फुटबलका विश्वहस्ती महान् फुटबलर पेलेको निधन भएको छ । ब्राजिलियन फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।
पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनकाे मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् समेत पुष्टि गरेकी छिन् । पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।
सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । पेलेले चारवटा बिश्वकप खेलेका थिए भने तीन खेल जितेका थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।
उनले १९५८ ,१९६२ र १९७० मा भएको विश्वकपमा सहभागी हुँदा १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।