मकवानपुर । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले उपाधि हात पारेको हो । पेनाल्टी सुट आउटमा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी हुँदा यो उसको तेस्रो विश्वकप उपाधि हो ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्सले कतारको लुसेल स्टेडियममा फाइनल खेलेका थिए । पहिलो हाफमा अर्जेन्टिनाले लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले २ गोलको अग्रता बनाएको थियो । तर, फ्रान्सका किलियान एम्बाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए ।
यसअघि १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । त्यसपछि खेल पेनाल्टीमा पुगेको थियो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी भएको हो ।
अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई हराएको थियो ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पारेको छ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने नियम रहेको छ ।