मकवानपुर । क्रोएसिया कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै तेस्रो भएको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २–१ ले हराउँदै गत संस्करण उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
कतारको खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउने क्रममा जोस्को ग्वार्डिओल र मिसलाभ ओर्सिकले एक/एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमा उसले जोस्को ग्वार्डिओलको गोलबाट अग्रता लियो ।
मोरक्कोका अचरफ दारीले ९ मिनेटमा गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । मोरक्कोले खेललाई बराबरीमा रोक्न खोजे पनि सफल भएन । ४२ औं मिनेटमा मिसलाभ ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ को रोमाञ्चक जित दिलाए ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराएको थियो ।
क्रोएसिया र मोरक्कोले कति पाए पुरस्कार राशी?
तेस्रो स्थान हासिल गरेसँगै क्रोएसियाले २७ मिलियन अमेरिकी डलर पुरस्कार राशी प्राप्त गर्ने भएको छ । मोरक्कोले चौथो स्थान हासिल गर्दा २५ मिलियन अमेरिकी डलर पाउने भएको छ । त्यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले १७ मिलियन, अन्तिम १६ मा पुग्ने प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले ९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६।१ किलोग्रामको आकर्षक ट्रफी हात पार्नेछ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने छ ।