मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका निजामति कर्मचारी, स्थानीय तहका कर्मचारी तथा अन्य सरकारीलाई मात्र खटाउने भएकाे छ । निर्वाचनमा कर्मचारी खटाउँदा अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने आयाेगले जनाएकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०५९ ले सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो । निर्देशिकाको मतदान केन्द्रमा कर्मचारी खटाउने व्यवस्थामा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी नपुग भएमा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउने’ भनिएको छ ।
त्यस्तै विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान केन्द्रमा खटाउँदा त्यस्तो मतदान केन्द्रमा सरकारी कर्मचारी समेत समावेश गरी खटाउन निर्देशन दिइएको छ ।