मकवानपुर । चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन हुन थालेपछि टाइमकार्ड लागु गरिएको छ ।
सवारी दुर्घटनालाई न्युनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टायम कार्ड लागु गरिएको छ । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएको छ । चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु भएको हो ।
थप टायमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको हो । टायमकार्ड लागु गरिएका उल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १५ चुरियामाई पिपलचौतारा र मनहरी गाउँपालिका ७ मनहरीबाट पूर्व पश्चिम राजमार्ग रुटमा चल्ने यात्रुबाहक बसहरुमा पनि टाइम कार्ड लागु गरिएक छ ।