मकवानपुर । बागमती प्रदेश सभा सदस्य रिता माझी राप्रपा नेपाल पार्टी प्रबेश गरेकी छिन । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य माझी राप्रपा नेपाल प्रवेश गरेकी हुन् ।
शुक्रबार बागमती गाउँपालिका-३ मा भएको कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराउदै स्वागत गरेका थिए । कार्यक्रममा अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा थापाले बताए ।
मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको दाबी रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत बताए ।
कार्यक्रममा बोल्दै माझीले इमानदारीता, निष्ठाका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएकोले थापा सङ्ग काम गर्दा गौरवको अनुभूति हुने समेत विचार व्यक्त गरिन् ।
कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए । कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझी लगायतको उपस्थित रहेको थियो ।