एसके ज्ञवाली
भन्न त मन थियो-
बा! तपाईं त खत्तम मान्छे
तर
मर्यादाको कसम, नैतिक शिक्षाले रोक्यो।
बा गुनासो गर्नुहुन्छ :
चाडपर्वको महत्त्व हराउँदै गयो रे
कुनै खुशी र उमंग देखिदैन रे आजकाल
दशै त दशै जस्तो नै भएन रे
बा भन्नुहुन्छ :
रोटे पिङ्मा चचहुईई गरिन्थ्यो र पो दशै दशै हुन्थ्यो
नयाँ नयाँ लुगामा रमाईन्थ्यो र पो दशै दशै हुन्थ्यो
लङ्घुर बुर्जा खेलिन्थ्यो र पो दशै दशै हुन्थ्यो
कौडा चाके दाउ हालिन्थ्यो र पो दशै दशै हुन्थ्यो
आह !
खसी काटेर केराको पातमा भाग लगाएको हेर्नुको मजा
गाउको कोटमा सराय नाच मेला हेर्नुको मजा
निधार भरी टीका थाप्दै गाउँ डुल्नुको मजा
मामा घर गएर गोजिभरी दक्षिणा बटुल्नुको मजा
अहिले कहाँ पाईन्छ र खै!
भन्न त ,भन्दिउ जस्तो लागेको हो:
मेरा बा,
छोरो हुन नजानेको बा बन्न नसकेको खत्तम मान्छे हुन
तर मर्यादाको कसम,नैतिक शिक्षाले रोक्यो।
बालाई स्पष्ट थाह छ
I hardly managed to pass
तर
दशैमा घर आएको पहिलो रातमै रिजल्ट सोध्नुहुन्छ
र गधालाई जस्तै घाँस हाल्नुहुन्छ
ए+ल्याएको भए
दशैमा साईकल किनिदिन्थे
तैले भने जस्तै ड.मार्टिनको जुत्ता हालिदिन्थे
बाले फिटिक्कै देख्नु हुन्न,
डि+बाट सि + मा उक्लिन मैले गरेको प्रयास
मात्रै आक्रोश युक्त गुनासो गर्नुहुन्छ
तैंले जिन्दगीमा केही गरि खादैनस
नाथे सि + ले के लछारिन्छ?
खाते बन्छ्स खाते,
गाउँ बाट झरेर मैले दुखले जोडेको
यत्रो घर ,जग्गा गाडी बेचेर खान्छ्स
र अलपत्र पार्छ्स तैंले हामीलाई बुढेसकालमा ।
बाले जत्ती फुर्ति लाएनि
मेरा बा का बा अर्थात बुढो हजुर बा गाउमै हुनुहुन्छ
यसैले जुरुक्क उठेर
भनिदिउ जस्तो लागेको थियो :
यत्रो बर्ष सहरमा बसेर
बा अटाउन सक्ने जाबो घर पनि बनाउन नसक्ने
तपाईं त खत्तम मान्छे हो
तर
मर्यादाको कसम , नैतिक शिक्षाले रोक्यो।
कहिलेकाही त
भत्काई दिउ जस्तो लाग्छ मर्यादाको पर्खाल
च्यातिदिउ जस्तो लाग्छ नैतिक शिक्षाको पाठ
र सोध्न मन लाग्छ:
बाल्यकालमा तपाईं जस्तै म रमाउन पाउने कि नपाउने ?
तपाईं सानो हुँदाको जस्तै दशै मलाई आउँछ कि आउदैन?
हजुरबुबाले तपाईंलाई हालिदिएको जस्तै पिङ
तपाईंले मलाई हालिदिने कि नदिने?
कोट र सरायको कथा-
मैले सुन्ने मात्रै हो कि हेर्न पनि पाउछु?
अझै भनौ तपाईं बा बन्ने कि नबन्ने?
मात्रै भने,
म होस्टेल बस्नेलाई किन चाहियो साईकल ?
स्कुल जुत्ता छदै छ किन चाहियो ड. मार्टिन ?
किताबमा दशै पढेकै छु किन जानू पर्यो गाउँ ?
तपाईं हरु जानुस , म होस्टेल फर्किन्छु
यसपटक
बाले मलाई केही भन्नू भएन
आमालाई गाली गर्नु भो-
“तैंले छोरो बिगारिस,मुखमुखै लाग्न थाल्यो
यसलाई श्रावण कुमारको कथा पढ्न भन “
झोक चल्यो म चिच्याय:
मैले पढ्ने नैतिक शिक्षा बाले पढ्नु पर्छ कि पर्दैन ?
बाले थप्पड हान्दै सोध्नु भो ” तैले खोजेको के ?”
मैले भने ” म श्रावण कुमारको छोरो हुन चाहन्छु।”
हेटौडा