मकवानपुर । यतिखेर देश चुनावमय भएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि एकै साथ निर्वाचन हुने तय भएपछि नेताहरु टिकटको लागि हान्थाप र मस्का लगाउन व्यस्त छन् । मतदाताहरु आफ्नो क्षेत्रमा कस्तो व्यक्तिलाई कुन पार्टीले टिकट दिने हो भन्नेमा चाख दिइरहेका छन् ।
यही देशको विभिन्न शहरमा यस्ता व्यक्ती छन् जसलाई चुनावी चासो पटक्कै छैन । छ त केवl सडकमा को भौतारीरहेको छ ? उसले कहिलेबाट खाना पाएन ? उसको स्वास्थ्य तथा मानसिक समस्या के कस्तो छ ? उ कसरी सडकमा आयो, कसरी व्यवस्थापन गर्ने उसलाई भन्ने बारे ।
मानवताले भरिएको यस्ता मनकारी व्यक्ति सहजै भेटिदैनन्, र त भन्ने गरिन्छः कलियुगमा मानवताको खडेरी पर्यो । मानवता हराउँदै आएको आभाष धेरैले गर्लान तर, मानवता आभाष गर्न एक पटक मानव सेवा आश्रम जानुस् । जहाँ आफ्नै परिवारबाट परित्यक्त व्यक्ती सबैभन्दा खुसी र सुखी जीवन जिइरहेका छन् ।
मकवानपुरको हेटौंडा ९ लामसुरेधापमा रहेको मानव सेवा आश्रमको मुख्यद्वार प्रवेश गर्ने वितिक्कै आश्रमका वार्डेनले नै चन्दनको टिका लगाइदिन्छन् । यहाँबाट सुरु हुन्छ सकारात्मक सोच । अभिवादन गर्दा उच्चारण गरिन्छ ‘जय मानवता’ । सम्मान र माया कसले रुचाउँदैन र ? ममता र सद्भावले भरिएको व्यवहारले सबैको मन तान्छ, र यसरी तानिएको मनले ममता र सद्भाव नै प्रकट गर्छ । सडकपेटीको जीवन कसैको रहर हुदैन । तर जीवनमा विभिन्न घटनाले मान्छेलाई सडकमा मात्र पुराउँदैन् जिउँदो लाश झै बनाउँछ न कुनै लक्ष्य हुन्छ न कुनै सपना र गन्तव्य नै । यस्तै मान्छेहरुले नदेखेको सपनाको संसार हो मानव सेवा आश्रम । हो,जो तीनै मान्छेहरुको सहारा बन्दै आएको छ मानवसेवा आश्रम ।
विगत एक दशकदेखि अशक्त, अनाथ, अपाङ, असाहय र मानसिक सन्तुलन गुमाएर व्यवारिसे बन्दै सडकपेटी, मठमन्दिर पाटीपौवामा जीवन खोजिरहेकाको सहारा बन्दै आएको हो मानवसेवा आश्रम ।
आश्रमले दशकको यात्रा पुरा गर्दै गर्दा हालसम्म देशभरबाट ७ हजार २ सय ६३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेको छ । देशभरको १९ जिल्लाका २३ वटा सेवा केन्द्रहरुमा १ हजार ४ सय ८० र मुख्य कार्यालय हेटौंडामा २ सय जनालाई हाल आश्रय दिइरहेको छ ।
आश्रमका संस्थापक /अध्यक्ष रामजी अधिकारीलगायत झण्डै ३ सय जना अभियन्ताहरु शहरको सडक र कुनाकुनामा मानवताको प्रवर्द्धनमा लागि परेका छन ।
यो आश्रमका टिम र पछिल्लो वर्षहरुमा देशको तीनै सरकारको सहयोगले नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको बताउँछन् अधिकारी । आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने २०८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्ने र सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा छन् अभियन्ताहरु ।
अनिदो बितेको त्यो रातले जन्मायो आश्रमः अधिकारी
“मानसिक अवस्था गुमाएकाहरुलाई एकै ठाउँमा भेला गरेर यसरी सेवा गरौंला भन्ने कुनै सोच,कल्पना योजना थिएन । सर्वोत्कृत जीवन साश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानका अभियानकर्मी थिए म (रामजी अधिकारी र केही साथीहरु ।)
यो अभियानको एक वर्ष पुगेको अवसरमा हामीले २०६९ साल जेठ २३ गते सडक मानवसँग सहभोज (पिकनिक) गर्ने मनसाय भयो । साथीभाईहरु बिच सधै पिकनिक गरिन्छ उहाँहरुसँग पनि गरौ भन्ने लाग्यो । हेटौंडाको बनस्खण्डी मन्दिरमा सहयोगापेक्षी मानवसँग पिकनिक कार्यक्रम गर्ने तयारी भयो ।

जसमा हेटौंडा विभिन्न स्थानमा सडकमा बस्नुभएका १८ जना आमाबुबालाई पिकनिक कार्यक्रममा ल्यायौ । उहाँहरुलाई नुहाइदियौ, कपाल काटिदियौ, नयाँ कपडा लगाइदियौ, हामी अभियन्ता, साधक साधिका सबै मिलेर खायौ, रमायौ ।
कार्यक्रममा हेटौंडा नगरपालिका, तत्कालिन जिल्ला विकास समिति, सिडिओ कार्यालयका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । हामी सानो औपचारिक कार्यक्रम गर्न लागिरहेका थियौ । एक्कासी मौसम गडबडी भयो । पानी पर्न थाल्यो । पानी पर्न थालेपछि सहभागी अतिथीहरुलाई पनि सडक मानवहरुको छानाको बारेमा चिन्ता भयो । अतिथी सबैले सडक मानवहरुको लागि राख्ने एउटा स्थानको अभाव भएको महसुस गर्नुभयो ।
औपचारिक कार्यक्रम सकियो उहाँहरु फर्कनु भयो । साँझ पर्दै आयो हामी पनि फर्केने बेला भयो । अब हामी आयोजकलाई फसाद प¥यो, सडकबाट उठाएर ल्याइएको उहाँहरुलाई अब कहाँ राख्ने । मन्दिरमै छाड्ने कुरा पनि भएन । उहाँहरुको लागि बासको व्यवस्था पनि हामीले गर्न सकेनौ । भारी मनका साथ उहाँहरुलाई विहान जहाँजहाँबाट उठाएर ल्याएका थियौ त्यहीत्यही छाडेर फर्कियौ । त्यो रात उहाँहरुमाथि आफूहरुले गरेको व्यवहार सम्झेर धेरै छटपट भयो । सुत्न सकिएन ।
अनिदो रात कटेपछि हामीले भोलीपल्ट नै २ वटा फ्ल्याट भाडामा लिएर ति आमा बुबाहरु खोज्न गयौं । तर १८ जना छोडेर गएकोमा ५ जनामात्रै भेट्न सफल भयौ । उहाँहरुको फिरन्ते स्वभाव हामीले छाडेको ठाउँमा कहाँ भेटीनुहुन्थ्यो र? अनि हामी (संस्थाको संस्थापक सुशिला केसी,रुपा र सुमन बर्तौला) नियमित सडकबाट यस्ता व्यक्तिहरुको उद्धारमा लागि रह्यौ । पछिपछि अरु अभियन्ताहरुको साथ थपिदै आयो । अहिले झण्डै ३ सयको हाराहारीमा समर्पित अभियन्ताहरु देशभर छौ ।
हालसम्म हामीले देशभरबाट ७ हजार २ सय ६३ जनालाई उद्धार गर्यौ । हामीलाई सुरुवातको दिनमा धेरैले पालगपन भन्दथे । सरकारले गर्न नसकेको काम, पाटन अस्पतालले गर्न नसकेको काममा किन हात हालेको भन्नेहरु धेरै हुनुहुथ्यो ।
साँच्चै मानसिक समस्या भएकाहरुलाई सम्हाल्न धेरै गाह्रो छ । घरमा एक जनालाई मात्रै मानसिका समस्या भयो भने त कत्रो आपत आइलाग्या जस्तो हुन्छ । हामी कहाँ अहिले पनि १ सयभन्दा बढी त मानसिका समस्या भएका बुबा आमाहरु नै हुनुहुन्छ । उहाँहरुमध्ये कसैको स्वभाव कसैसँग मिल्दैन । उहाँहरुको आ आफ्नै स्वभाव हुन्छ, उहाँहरुलाई न त अनुशासनको कुरा लाग्छ न त कुनै नैतिकता र सही सोचाइको । दिशा पिसाबको भर हुन्न । बोल्ने कुराको भर हुन्न, न हिड्ने कुराको । धेरै जसोलाई खाना समेत खुवाइदिनुपर्छ, सरसफाइ गरिदिनुपर्छ ।

यस्तो काममा स्वभाविक रुपले सेवामा समस्या छ । तर, प्रेमपूर्ण रुपमा हामीले सेवालाई स्वीकार गरेका छौ, र यो संभव भएको छ । हाम्रो एउटा समूह नै बनेको छ अहिले । स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि हामीलाई साथ दिएको छ । उहाँहरुलाई दायित्वबोध गराउन सक्षम भएका छौ । यही हो उपलब्धी ।
नर्स, सवारी चालकबाहेक देशभरगरी झण्डै ३०० जना सर्मित अभियन्ताहरु छौ । हेटौंडामा ३० जनाभन्दा बढी अभियन्ताहरुले अभिभावकत्व गर्ने समूह छ । हाल आश्रित १ हजार ४८० जना मध्ये झण्डै २ सय जना भारत, बंगलादेश, चिनियाँ, बेलायत लगायतका हुनुहुन्छ । हामीले ५ जनालाई बंगलादेशमै गएर पारीवारीक पुर्नमिलन गरायौ । बेलायतीलाई पनि हामीले एमबेसीसँग समन्वय गरेर बेलायत पठायौ । भारतीय नागरिकलाई त प्रत्येक दिन जसो नै परिवारसँग पुर्नमिनल गराइ नै रहेका हुन्छौं । सडकबाट मात्रै हैन घरैमा बाँधेर राखेको मान्छे पनि उद्धार गरेका छौं । मान्छे भएर जन्मिएपछि मान्छेकै रुपमा बाँच्न पाउनु पर्छ । ति दिनको समस्या हालमा सहजतामा पनि एक दमै याद आउँछ । हामीले नै मागेर गुजारा चलाएका हौं सुरुसुरुका दिनमा । हेटौंडाको कुनै त्यस्तो घर छैन, जहाँ हामीले बोरा बोकेर ढोका ढकढक गरेर मुठ्ठी दान नलिएको होस, सबै घर घरमा पुगेर दान उठाएका छौ ।
अब हामी रित्तो बोरा बोकेर घरघरमा जाँदैनौ, हामीकहाँ भरीएका बोरा लिएर मानवताको पुजारीहरु आफैं आउनुहुन्छ । जन्म दिन मनाउने, पितृको तिथीमा आश्रममा बसोबास गर्दै आउनु भएकाहरुलाई भोजन गराउनेहरुको साथ छ । अब खुवाउनको लागि समस्या छैन, आजकै दिनमा पनि आगामी ९० दिनको भोजन सेवा बुकिङ भैसकेको छ ।
हेटौंडा कार्यालयमा मात्रै अभियन्ता समेत गरी २५० जनाको लागि खाना एकै भान्छामा पक्छ । हामी एकै साथ खान्छौ । सबैले संगितमय वातावरणमा । कसैले आश्रममा एक छाक भोजन गराउन चाहेमा १६ हजार जति खर्च लाग्छ । एक पटकको खाजाको व्यवस्था गर्न चाहेमा ८ हजार र विहान बेलुकी खाना र विहान दिउँसो खाजा समेत खुवाउन चाहेमा ३० हजार योगदान गर्न कोही तयार भए पुग्छ । यहाँ सात्विक भोजन खुवाइन्छ, माछा मासु चल्दैन, अरु पिय पदार्थको त कुरै भएन ।
किन मान्छे सडकको जीवनमा आइपुग्दा रहेछन् ?
एउटा मुख्य कारण गरिब हो, अर्को कारण नैतिकतामा आएको स्खलन छ । परिवारबाटै मेरो मान्छे राखिदनु पर्यो मासिक खर्च दिन्छु भन्नेहरुको प्रेसर आउँछ अहिले हामीलाई । हामीले स्वीकार गर्ने गरेका छैनौ । आफ्नो परिवारलाई आफैंले हेर्नुपर्छ भनेर हामीले परामर्श गर्ने गरेका छौ । अर्को चाही मान्छेहरु अभावले भन्दा स्वभावले रोगी र दुखी हुने रहेछ । घरको सामान्य झगडाको कारण तेरो घरमा तै बस भन्दै सडकमा आइपुग्नु भएको पाएका छौ, उहाँहरु चै चाँडै पारीवारीक पुर्नमिलन हुने गरेको छ ।
अर्को समस्या सरकारको नीतिमा पूर्णता भएन । ऐन कार्यान्वन नभएको कारण पनि माग्ने र जीवन चलाउनेहरु छन् । आर्थिक रुपले सम्पन्न भएकाहरु पनि माग्न बसेका पाएका छौ । ट्याक्सी चढेर आउने सडकमा माग्ने र साँझ ट्याक्सीमा चढेर फर्कने गरेको पनि पाएका छौ । हामी गहिरो अनुसन्धान गरेर मात्रै उद्धार गर्छौ ।

पछिल्लो वर्षहरुमा कोभिड १९ को कारणले मानिसहरु सडकमा आउनेहरुको सङ्ख्या ह्वात्तै बढ्यो । अहिले कहि कतै बेवारीसे व्यक्ति देखिएमा आश्रममा फोन आउने गरेको छ । दैनिक जसो थपिने र पारीवारीक मिलन गराउने काम जारी हुनेभएकोले आश्रममा बस्नेहरुको संख्या एकनास हुँदैन । आश्रमले आफैं पनि समय समयमा एम्बुलेन्स लिएर जिल्लाको विभिन्न स्थानमा सडकमा मानवको खोजि गर्दै हिड्ने गरेको छ ।
सुखले बाँच्ने ठाउँः स्थानीय
स्थानीय प्रकाश पौडेले विगतको बेदना मनभरी झलझल याद आउने बताउँछन् । “विगतमा गुजारेको पीडा र आजको सहज दैनिक आकाश पाताल फरक छ” उनले भने “उहाँहरुको कपाल काट्ने ठाँउ, खाने ठाँउ, सुत्ने र आराम गर्ने ठाउँ हेर्दा हामी मध्ये धेरैको घरमा यस्तो व्यवस्था छैन, यहाँ आइपुगेपछि लाग्छ, जो सबैभन्दा बढी परित्यक्त थियो उ सबैभन्दा आलिसान जीवन जिइरहेको छ ।”
जीवनको हक सबैलाई सरोबरी हुन्छ । जीवनमा सबैभन्दा बढी मान सम्मान र सुख पाउने ठाँउ मानव सेवा आश्रम बनेको बताउँछन् पौडेल ।
हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसीका २ छोरीहरु त यसै अभियानमा समर्पित छन् । चितवन र बुटवलमा उनका २ छोरीहरुले सेवा गरीरहेका छन् । “स्थानीय सरकारमा भएकाले मैले गर्नुपर्ने काम हो यो, त्यसैले पनि आश्रमलाई मेरो खाँचो जहाँ पर्छ म तयार छु” उनले भने “हामीले सकेको अभिभावकत्व गरीरहेका छौ ।”
पराशर्म परिवारमा फर्काउने विधि
जब सडकबाट उनीहरुलाई उद्धार गरेर ल्याइन्छ । आश्रमको अभियन्ताको एउटा समूह नै उद्धार गरिएकाहरुसँग बस्छन् । छाना खाना नाना सहित स्वास्थ्योपचार पाएपछि उद्धार गरिएकाहरुको मुहारमा विस्तारै खुसी भरिन्छ । उनीहरुलाई आफ्नो परिवारको बारेमा भन्न कुनै समस्या रहन्न भन्ने भएपछि अभियन्ताको परामर्श टोलीले बिस्तारै कुरा खोताल्दै जान्छ ।
परिवारको अवस्था कस्तो छ रु को को हुनुहुन्छ रु कहाँ हुनुहुन्छ, सडकमा कसरी आइयो । सबैकुरा प्रेमले सोधेपछि मानसिक रुपमा स्वस्थ्य हुनेहरुले सबै बताउँछन् । प्रेमपुर्वक ढंगले परिवारको महत्व सम्झाउँछन् । जब उद्धार गरिएकाहरुले आफू आफ्नो घर फर्कन इच्छा प्रकट गर्छन, अनि परिवारसँग सम्पर्क गरेर बोलाइन्छ ।
परिवारसँग गहिरो गरी परामर्श गरेर, दायित्व बोध गराएरपछि मात्रै आपसी भेट गराइन्छ र पुर्नमिलन गराइन्छ । हालसम्म आश्रमले आफूले उद्धार गरेका मध्ये ३ हजार ४०९ जनालाई पारिवारिक मिलन गरेको छ । मुख्य कार्यालय हेटौंडाबाटमात्रै ७५८ जनालाई आफ्नो परिवारसँग पुर्नमिलन गराएको छ । उहाँहरु मध्ये केही भने फेरी सडकमै आएको कारण पुनःउद्धार गरेर आश्रममा ल्याइएको छ ।
“परिवारसँग प्रेमपूर्वक मिलन गराएर पठाएपछि पुन परित्याक्त हुने अवस्थामा नआओस भनेर हामीले पुर्नमिलन गराउँदा एकदम ध्यान दिने गरेका छौ” आश्रमका मकवानपुर जिल्ला संयोजक हुमनाथ पौडेल (कृष्ण) ले भने “तर पनि कहिले काँही सोचेको भन्दा विपरीत नतिजा आउने गरेको छ ।”
झण्डै २० प्रतिशत व्यक्तिहरु परिवारमा फर्केर पनि पुनः सडकमा आउने गरेको आश्रमले जनाएको छ । उनीहरुको सुखद पारीवारीक मिलन नभएसम्म आश्रमले फलोअप गरिरहेका हुन्छ ।
महिलाको सवालमा भने पारीवारीक पुर्नमिलन हुने सँभावना एकदमै कम रहेको बताउँछन् उनी । सडकपेटीमा आएको मान्छे किन लैजाने बरु हामी यहाँ आर्थिक सहयोग गछौं भन्ने कुरा आउँछ । नेपाली परिवार मुल्य मान्यताको कारण यहाँ पनि महिला नै बढी पीडित छन् । परिवारले लगिहाले पनि एकदम नैतिक दबाबको कारण मात्रै लैजाने गरेको उनले बताए । “पुरुषहरुलाई मुस्कारका साथ लैजानुहुन्छ, उद्धार गरिदिएकोमा आश्रमप्रति आभार प्रकट गर्नुहुन्छ, तर महिलालाई लैजानु पर्दा मुस्कान हैन, ठुस्कानका साथ, टाउको उता फर्काएर बाध्य भएर लैजानु हुन्छ” अधिकारीले भने “यसरी लगिएकाहरु फेरी सडकमै आउने, परिवारबाट परित्यक्त हुने संभावना बढी हुन्छ ।”
बच्चा माग्दै २०० वटा निवेदन
आश्रममा जन्मेका बालबालिकालाई आफ्नो सन्तानको रुपमा राख्न बच्चाको माग गर्दै २०० वटा निवेदन आश्रममा आएको छ । नेपालको कानुन अनुसार बालबालिकालाई अरुको जिम्मेवारीमा छाड्ने सहज नियम छैन । अहिले अदालतले नै मानसिक अवस्था गुमाएका आमाबाबुका सन्तान नदिन निर्देशन गरेको छ ।
हाल मानसिका अवस्था गुमेकी आमाले पछि सञ्चो भएपछि बच्चा माग्यो भने के भन्ने रु भन्ने व्याख्या अदालतको छ । “कानूनी जटीलता एकातिर छ, अर्को कुरा हामीलाई (आश्रमलाई) पनि त उत्तराधिकारी चाहियो नी, हाम्रो भोलीको पुस्ता उहाँहरु नै हो” अधिकारीले भने । “हामी कहाँ अहिले सबैभन्दा सानो नानी १ वर्षको हुनुहुन्छ, र सबैभन्दा ठुलो क्याम्पसमा पढ्दै हुनुहुन्छ ।” बालबालिकाहरु आफ्नो खुट्टामा उभिएर आफ्नै तरीकाले बाँच्छु भनेर आश्रमबाट बाहिरीन पनि अनुमति छ ।
“तर हामी उत्तराधिकारीको अपेक्षा गरिरहेका छौ, आश्रमकी एक छोरी अहिले झापा जिल्लाको जिल्ला संयोजक भएर काम गरिरहनु भएको छ” अधिकारीले भने । यहाँका नानीबाबुहरु मानवताको स्रोत हुन्, नैतिकताको मुहान होउन भन्ने चाहन्छ आश्रम।
आश्रममा हालसम्म १५० जना बाबुनानीको जन्म भएको तथ्याङ्क छ । विभिन्न कारणले सडकमा पुगेका मानसिक सन्तुलन गुमाएर जीवन जिउँन बाध्य भएर सडकपेटीबाट उद्धार गरिएका महिलाहरुबाट ४४ जना बालबालिकाहरुको जन्मिएका छन् । उनीहरुबाट जन्मिएका बालबालिकाहरुलाई पढाउने हुर्काउने जिम्मेवारी आश्रमले नै उठाउँदै आएको छ ।
हराभरा वतावरण
पागलपनका व्यक्तिहरु जम्मा गरेर टोल विगार्ने चिन्ता गर्ने केही व्यत्तिहरु अहिले छक्क परेका छन् यहाँको हराभरा वातावरण देखेर । वरपर बगैंचा, पोखरीहरु विस्तार गरिएको छ । तरकारी तथा फलफूल लगाइएको छ। झ्वाट्ट हेर्दा पर्यटकीय क्षेत्र जस्तो लाग्ने यो स्थानमा विकास निर्माणको काम पनि तिव्र आश्रमको स्थापनापछि भएको छ । आश्रमले प्रहरी प्रशासनसँग राम्रो समन्वय गरेको कारण गाउँमा समेत शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलेको छ ।

भौतिक वातावरणमात्रै हैन आश्रममा समय समयमा हुने भजन सन्ध्याले धेरैलाई आकर्षण गर्ने गरेको छ । आश्रमका अभियन्ताहरुले बेलाबेलामा टोल सरसफाइ कार्यक्रम गर्छन । अभियन्ताहरुको सेवाभावबाट स्थानीय पनि खुसी छन् ।
मेचिकाली संगित यात्राको तयारी
आश्रमले मानवता प्रवद्र्धनकै लक्ष्यका साथ मेचिकाली संगित यात्रा गर्दै छ । यो कार्यक्रम हेटौंडामा आगामी मंसिर २२ गते हुने तय भएको छ । देशको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म यो यात्रा हुनेछ ।
मेचिको विराटनगरबाट सुरु हुने यो यात्रा अन्तरगत विरगज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, बुटवल, पोखराहुँदै काठमाण्डौमा पुगेर समापन गरिने संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । यात्रामा नेपथ्यको समूहले संगित प्रस्तुत गर्नेछ ।
जसमा ६ हजार मानिस मानवता प्रवर्दनको लागि सन्देश प्रचारको रुपमा रहने छन् । यि कार्यक्रम मार्फत संकलित रकमले आश्रमको लागि अक्षय कोष बनाउने लक्ष्य रहेको अधिकारीले बताए ।