अस्ति कृष्णअष्ठमीको दिन एकजना छिमेकी दिदीको छोरा खुब रोइरहेको सुनेँ । सोधे: “किन रुवाउनु भएको बाबुलाई ?”
“कृष्णको लुगा चाहियो रे, कहाँबाट ल्याइदिनू ?” दिदिको दिक्दारिपुर्ण उत्तर आयो ।
“काठमाण्डौमा डेरामा बसेर दैनिकी चलाउन यति कठिन छ । महङ्गीले आक्रान्त पारेको बेला हरेक महिनाजसो आउने यस्ता पर्वमा नयाँ कपडा किन्न कसरी सम्भव हुन्छ ?”
दिदिले एकै श्वासमा पीडा ओकल्न भयो । म सुनिरहे ।
“सक्नेले गर्छन् त !” मेरो मनमा कुरा खुल्यो । “के यो समाज नसक्नेहरूको चाहिँ होइन ?” फेरि मनमा प्रश्न उठ्यो ।
आफ्नो काममा ध्यान मोड्न खोजे । स्मृतिमा बिगत फर्कियो । ……म यस्तो परिवारको प्रतिनिधित्व गर्छु जहाँ वर्षमा एक पटक दशैँमा नयाँ लुगा किन्नु भनेको ठूलै आर्थिक भार हुन्थ्यो । दशैँमा नयाँ लुगा किन्नै पर्ने नियम किन राखिएको होला ? भन्ने प्रश्न मेरो बाल मष्तिस्कमा धेरै पटक खेलेको पनि हो उबेलै पनि । त्यसैले अरुको भड्किलो जीवनशैलीले गरिब परिवारमा पर्ने असर म बुझ्न सक्छु ।
अहिलेको समाज हेर्छु । कृष्णअष्ठमीमा बच्चालाई राधाकृष्णको पोषाक र मेकप, क्रिसमस् आयो कि सान्टाको गेटअप । हामी पहिला फागु पुर्णिमामा सबैभन्दा पुरानो कपडा लगाएर खेल्थ्यौँ, ताकी नियमित लगाउने लुगा नबिग्रीयोस । अहिले नयाँ सेता कपडा लगाउने चलन छ। विवाह, व्रतबन्ध, पास्नी, जन्म दिनजस्ता कार्यक्रम आयोजना गर्दा अभिभावकलाई पर्ने आर्थिक भार ! त्यस्ता कार्यक्रममा जान लायक कपडाको जोहोमा लाग्ने खर्च ! सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ मेरो।
चाडवर्प र जीवनका महत्वपूर्ण उत्सव हुन् । यिन्खरूको आफ्नो मर्यादा र महत्त्व छ । पक्कै मनाउनु पर्छ चाडपर्व । तर हाम्रा सँस्कृति छाडेर हामी तडकभडक र देखासिकीमा पर्व मनाउंछौ । यसरी आफ्नो मौलिकता बिर्सेर हामी, हामी रहन पक्कै सक्दैनौँ ।
तर हामीले सँस्कृतिको नाममा पच्छ्याइरहेको अहिलेको चलन कतै समाजको लागि हानिकारक त बन्दै गइरहेको छैन ? यसबारे हामीले कहिले सोच्ने ? कृष्णअष्ठमीमा व्रत बसेर, कृष्णको भजनकृतन गरेर मनाउने चलन थियो हामी सानो छँदा । यो बालबालिकाहरूलाई नै राधाकृष्ण बनाउने चलन कसरी आयो ? यसरी नै हाम्रा हरेक पर्वहरू किन यति भड्किलो भइरहेछन् ? यीनलाई जसरी मनाइन्थ्यो, त्यसरी नै मनाउन सकिँदैन ?
यो समाज हामी सबैको हो । यहाँ मनाइने चाडपर्व, धर्म, मौलिकताले सबैको पहिचान र अस्तित्व बोकेको हुन्छ । यसलाई सबै बस्न सक्ने र सबै अटाउन सक्ने बनाउनु पनि हामी सबैको दायित्व हो ।
यसका लागि समाजका हुनेखाने र शिक्षित भनिएका वर्ग अलि सचेत हुनु पर्ने देखिन्छ । तपाईहरू उही कपडा लगाएर धेरै कार्यक्रममा गइदिनुस् ताकी एउटै कपडा धेरै ठाउँमा लगाउनु सामान्य बनोस् । सामान्य चाडपर्वलाई तपाईंहरू जबर्जस्ती महँगो र भड्किलो नबनाइदिनुहोस् किनकी तपाईंहरूलाई हेरेर नै समाजले सिक्ने हो ।
खासमा, हामी जति सामान्य भएर हिँड्छौँ, उति नै विशिष्ट देखिन्छौँ । भड्किलो जीवनशैली थोरैलाई मन पर्न सक्छ त्यो पनि जिन्दगी नबुझुन्जेल । धेरैलाई मन पर्ने त “सादा जीवन, उच्च विचार नै हो ।”
चाडपर्व मनाउँदा बालबालिकालाई साँस्कृतिक मुल्यमान्यता सिकाउँ, ति चाडपर्वको अर्थ र गम्भीरता बुझाऔं, भड्किलो जीवनशैली हैन । बालबालिकालाई जीवन सिकाऔं, तडकभडक र देखासिकि हैन । बालबालिकालाई नैतिकवान बनाऔं । सामाजिक जीवन र संस्कार सिकाऔं ताकी भोलिको भविश्यमा उनीहरू संघर्षमै पनि जीवनको धेरै आयामहरू बुझ्न सकुन । असफलता भित्र हज्जारौं सफलता दीपहरू पहिल्याउन सकुन ।
– हेटाैडा १२ सिग्रेनी, मकवानपुर ।