मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरुको हिसाब गर्नु पर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झुटा आश्वासन देखाएर पैसा उठाएर खानेहरुको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।
‘मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर जनताकाे पैसा खानेहरु र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको छ शुक्रबार बागमती प्रदेश भेलामा लामिछानेले भने– ‘राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कस्ले बन्द गर्यो ? त्यसको हिसाब खोज्नुपर्छ ।
‘हेटौंडा कपडा उद्योग जहाँ ११ सय भन्दा बढी मानिसहरुले राजगारी गर्थे,तिनका परिवार आम्दानी गर्थे,परिवार चलेको थियो । उनले भने,आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाईदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’ उनले उद्योग, कलकारखाना नेताका कमिसन, कार्यकर्ता भर्तीका कारण बन्द हुन पुगेको भन्दै हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गईरहदाँ बन्द हुने अवस्थामा पुगेको समेत बताए । उनले हेटौंडामै भएको निजि सिमेण्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।
यसैगरि, नेपालमा प्रदेशको संरचना आवश्यक नै नभएको दावी समेत लामिछानेले दावी गरे । नेपालका कतिपय राजकीय पदको औचित्य नै नभएको उनले बताए । सघीय संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु पर्ने उनले बताए । बागमती प्रदेशमा १८ जना मन्त्री र मन्त्रालय राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएकोले केहि काम अघि बढ्न नसकेको उनले बताए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन समेत कार्यक्रममा अनुरोध गरेका छन् । सही नेतृत्व चुन्न सके मात्र देश परिवर्तन हुनसक्ने लामिछानेले बताए ।
यस्तै लामिछानेले मुलुक चलाउन भिजन भन्दा मुटु चाहिने बताएका छन् । मुलुक चलाउन कुनै वादको जरुरी नभएकाे बताउँदै उनले नेपालको विकासकाे लागि पर्यटनको विकास गर्नुपर्ने बताए । प्रदेशस्तरीय भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिले मेरो कल्पनाको देश भन्ने आशयमा अभिव्यक्ति दिएका थिए ।