मकवानपुर । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा पनि विहानैबाट हल्का वर्षा भइरहेकाे छ ।
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position) को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार श्रावण १२ गते (बिहीबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी श्रावण १३ गते (शुक्रबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै श्रावण १४ गते (शनिबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैशम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यसैगरी,देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले सबैमा आग्रह गरेकाे छ ।