मकवानपुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधबकुमार नेपालले चुनाव लक्ष्यित गठबन्धनको उदेश्य पुरा भएपछि पार्टीका कार्यकर्तालाई अब संगठन बलियो बनाउन निर्देशन दिएका छन् ।
गठबन्धनसँगको जितलाई हेरेर मख्ख नपार्न आग्रह गर्दै उनले भने “आफ्नो संगठन निर्माण गर्न लाग्नु होस्” । उनले भने “गठबन्धन हैन, संगठन बनाऔ, शक्ति निर्माण गर्नुस्, एक औलाले केही गर्दैन मुठ्ठी बनाउनु होस् ।”
चुनावमा जहा जहाँ गठबन्धन भाँडियो त्यहाँ आफ्ना पार्टीको उम्मेदवारहरुले टिकट फिर्ता गर्न चाहेको प्रसंग कोट्याउँदै उनले भने “हामीले आफैं जित्ने छौ, हामी बलियो भए सबै हाम्रा हुन्छौ, हामीले संगठन बलियो बनाउन सक्नेछौं ।” गठबन्धनमा सहभागी दलको हैसियत मतपरिणाममा देखिएको भन्दै उनले आफूहरु बलियो शक्ति बनेको दाबि गरे ।
हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुर जिल्लाको ८ वटा स्थानीय तहमा जित प्राप्त भएपछि विजयीहरुलाई बधाइ दिन हेटौंडा आइपुगेका नेपालले नेकपा एकीकृत समाजवादीले आफ्नो आधार तय गरेको भन्दै अब तल्लो तहसम्म पुगेर संगठन बलियो बनाउन ध्यान दिनुपर्ने बताए ।
जनतामाथिको विश्वास जित्न सकेकोमा आफूहरु उत्साही रहेको उनले बताउँदै उनले भने “जनताको बिचमा भिजेकै कारण, जनताको पिर र मर्कामा साथ भएकै कारण हामीले जित हासिल गर्न सफल भयौ ।”
जितेको कारण आफूमा अभिमान नराख्न निर्देशन दिंदै उनले भने “जितिसकेपछि नमात्तिनु होला, हारेपछि पनि नआत्तिनु होला ।” कार्यकर्तालाई सेवाको भावनाबाट प्रेरित हुन उनले आग्रह गरे । कार्यकर्तालाई चुनावमा जितेको ठाउँ र हारेको ठाउँमा मुल्याङ्क गर्न उनले निर्देशन दिए । “जितेको ठाउँमा भन्दा हारेको ठाउँमा मसिनो गरी मुल्याङ्क गर्नुहोस्” उनले भने “यसले अब कसरी अघि बढ्ने भन्ने बाटो देखाउँछ ।”
धरानको मेयरमा विजयी भएका हर्क सम्पाङको उदाहरण दिंदै उनले भने “निरन्तर जनताको साथमा हुने मान्छेलाई पार्टी नै नचाहिने रहेछ, हामी भन्दा पनि उनी अघि आए, हामीले उहाँबाट सिक्नु पर्छ ।”
नेकपा एकीकृत समाजवादी यस्तै राम्रा राम्रा व्यक्तिको खोजिमा रहेको बताउँदै उनले भने “हामी यस्तालाई खोजि खोजि पार्टीमा ल्याउने छौ, आठ महिनामा हामीले पार्टीलाई जुन स्थानमा ल्याएका छौ, यो सानो उपलब्धि हैन ।”
गठबन्धनको कारण यो सफलता प्राप्त नभएको दाबि गर्दै उनले भने “गठबन्धनमा सहभागी दलहरुको आ आफ्नै गुनासाहरु छन्, हामी आफैं यहा आएका हो, हामी एक्लै जित्छौ एकदिन भनेर उच्चमनोबलसहित लाग्नु पर्छ ।”
आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा आजैबाट लाग्न उनले आग्रह गरे । “आजैबाट जनताको बिचमा जानुस्, चुनावमा टिकट पाउने नपाउने कुरामा ध्यान नदिनुहोस्, जो कोही आएपनि पार्टीको मान्छे भनेर लाग्नु होस्” उनले भने “टिकट नपाएको झोंकमा पार्टी छोड्नेलाई हामी पनि हिसाब राख्नुपर्छ ।”