मकवानपुर । मकवानपुरे पत्रकार गिरिजा अधिकारी जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् । विहीबार सरकारले आयोजना गरेको विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई उक्त ममनपदवीबाट विभूषित गरेकी हुन् ।
२ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्री ममनपदवीबाट विभूषित गर्ने घोषणा गरेको थियो । २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् ।
काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, सौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् । मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादककाे उनले अनुभव बटुलेका छन् ।
पत्रकारका अलावा साहित्य र गीत लेखनमा समेत सक्रिय अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा), र मकवानपुरमा मिडिया नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् ।
यस अघी अधिकारी प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार, राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत तथा सम्मानित भएका छन् ।