मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र पौडेल नेपाली कांग्रेसबाट विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गिता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको मुख्य निर्वाचन प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए छ ।
यसैगरी, सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् । तिमल्सिना र पौडेलले क्रमश ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् ।
हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा १ महिला र १ अन्य पदमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको लागि २ मतदान स्थल तयार गरिएको थियो । प्रदेश सभाका सदस्य मतदाताहरुकाे लागि र स्थानीय तहका प्रमुख अध्यक्ष तथा उप प्रमुख उपाध्यक्ष मतदाताहरुकाे लागि छुट्टा छुट्टै मतदान स्थल बनाइएकाे हाे ।
यसअघि विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने बताउँदै आएको थियाे । विवेकशील पार्टी संसदीय दलको मंगलबार काठमाडौंमा बसेको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो । साेही अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने उसकाे ३ जना सांसदले मतदान प्रक्रियामा भाग लिएनन् ।
प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझी मतदान गरेका हुन्।
यसैबिच बागमती प्रदेशमा भएको चुनावमा सांसद हिमाली लामाले आफैंले मतदान गरेको तस्बीर खिचेको र प्रमुख निर्वाचन अधिकृत न्यायधिश डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको निहुँमा भएको विवादले केही बेर मतदान स्थल तनावग्रस्त बनेको थियो । माओवादीकै अर्का सांसद राजकाजि महर्जनले प्रमुख निर्वाचन अधिकृत श्रेष्ठ बीच भनाभन भए पछी स्थिती तनावग्रस्त बनेको थियो ।