नैना अधिकारी
विश्वासको घाटी रेटेर
समुद्री जीवसरी
जताततै सलबलाई रहेछन्
हजारौं टाउँकाहरू
काला
सेता
सुनौला
परिचित
अपरिचित
अविराम कुदिरहेछन् कति हो कति टाउका
पिस्सिइरहेछन् सांसारिक अन्तर्द्वन्द्वको जाँतोमा
फरेबको धुलो आँखामा छ्याप्ने तरखरमा
मौका छोपेर बसिरहेछन्
अनगन्ती टाउका
कतै विरोधका टाउका
कतै समर्थनका
कतै ताक परे तिवारी नत्र गोतामेका टाउका
जताततै टाउकैटाउका,
गिदी भएर पनि रित्तो जस्ता
शिथिल भएर बसेका,
स्वार्थको चाँयाले भरिएको कपाल बोकेर
धोकाको रङ्ग पोतेर आँखा छल्न पल्केका टाउका
टाउकोको सदुपयोग गरेर
(होइन, दुरपयोग भन्दा सही होला)
टाउकाहरू धनी भएका छन्
मानी भएका छन्
दीनहीन टाउका
दलित टाउका
यी टाउका टाउका मात्र हुन्
टाउकै त होइनन्
टाउकाले देश सपार्छ
बिग्रेका टाउकाले देशै स्वाहा पार्छ
एक टाउकाले हजारौं पाखुरालाई धराशायी पार्न सक्छ
हेरिराख!
हेरिराख, तेस्रो विश्वयुद्धमा बम पडकिँदैन
टाउको रन्किन्छ
अनि संसार सल्किन्छ।
कामरूप, असम भारत
(अधिकारीकाे भर्खरै प्रकाशित कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरू’ मा समावेश कविता- सं)