मकवानपुर/मनमा सकारात्मक संकल्प छ भने, जस्तोसुकै समयमा पनि सकारात्मक योजना बुन्न सकिन्छ । यसको गतिलो उदाहरण बनेका छन्, हेटौंडा उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी । उनैको नेतृत्वमा विगतमा डरलाग्दो झाडीको रुपमा रहेको र वर्षायाममा स्थानीयवासीको लागि अभिसाप बनेको खहरेले पार्कको रुप लिदैंछ ।
एक स्थानीय तह एक पार्क निर्माण गर्ने अबधारण अनुसार पार्क निर्माणको खोजिमा रहेको वडा कार्यालयले खहरेको झाडी सफा गरेर पर्यटकीय स्थल बनाएको हो । जहाँ स्थानीय वडावासीदेखि सांसद र प्रदेश सरकारले हेस्टेमा हैंसे गरे ।
यसरी जन्मियो पार्कको अबधारण
पहिलो चरणमा कोरोना भाइरसको प्रकोपले देशव्यापी लकडाउन भयो । दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुको चुल्हो बल्न छाड्यो । छाक टार्नकै लागि दैनिक ज्यालामजदुरीमा जानेहरुको बालबालिका भोकभोकै पर्न थालेपछि सबैजसो स्थानीय तहहरुले खाद्यान्न वितरणको कार्यक्रमहरु अघि सारे । हेटौंडा उपमहानगरपालिका –९ ले पनि खाद्यान्न वितरण ग-यो । स्वार्थ र लोभले भरीएका मानिस कोही न केही जहाँ पनि भेटिन्छन्, यहाँ पनि भेटिए । घरमा खाद्यान्न प्रर्याप्त भएका, काम गर्न लाज मान्नेहरु पनि राहत थाप्न आए । खानै पाइन भन्दै राहत लिन आउनेलाई दिनै प-यो । वडा अध्यक्ष भण्डारीलाई यसरी सही काम भएको लागेन । राहतमा वितरण गरेको चामल गाईलाई खुवाएको आफैंले देखे । “यस्तो चामल हामी खादैनौ, उर्जा खान्छौं भन्दै चामल गाईलाई खुवाए, अनि मैले राहत वितरण गर्ने सोच फेरे” भण्डारी भन्छन् । सित्तैमा पाएपछि लिने र फाल्ने परम्परा हटाउन श्रममा आधारीत राहत वितरण थाले उनले ।

पार्क निर्माणको सपनाले अब मुर्त रुप लिने यहि अवसर बन्न सक्छ भन्ने सोच झ्वाट्ट आयो । बजेटको अभावको कारण डरलाग्दो झाडी फाँड्न सकिएको थिएन । लकडाउनमा खाद्यान्नको समस्या हुनेले आफ्नो घरेलु हतियार प्रयोग गरेर झाडी फाँड्नमा सहभागी हुने र साँझ राहत लिएर फर्कने भन्ने उर्दी टोल विकास मार्फत उनले आफ्नो वडावासीलाई सुनाए । अनि साँच्चै राहत आवश्यक पर्नेहरु काममा आउन थाले । वडा अध्यक्ष भण्डारी आफ्नो निजी गाडीमा राहत बोकेर बाड्न थाले ।
अहिले त्यही विगतको डरलाग्दो झाडी सबैको आकर्षणको केन्द्र विन्दु अर्थात व्यवस्थित दिव्य बाल उद्यान बन्ने क्रममा छ । पिकनिक स्पोट सहितको पार्क । हेटौंडा–९ बेतखोल्सी सामुदायिक वन क्षेत्र र खोलाको किनारमा रहेको १८ बिगाहा जमिन अब विगतको जस्तो पस्नै डराउनु पर्ने झाडी छैन । बरु मन बहालाउने रहर लाग्दो पार्कमा परिणत हुँदै छ । पार्कको केही संरचना निर्माण भैसकेको छ ।

पार्क प्रवेश गर्ने मुख्य गेट निर्माण गरिएको छ । प्रवेश गर्ना साथ विभिन्न रङ्गको वाटर फाउण्डेसन निर्माण सम्पन्न छ । त्यसपछि बनेको छ कम्युनिष्ट नेता मदनकुमार भण्डारी र जीवराज आश्रितको आकर्षक प्रतिमा । यसैगरी शान्तिको प्रतिक गौतम बुद्धको प्रतिमा राखिएको छ ।
केही माथि नेपाल आमाको प्रतिमा राख्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए । “नेपाल आमाको प्रतिमा हामीले सबै भुगोलको सम्मान दर्शिने गरि राख्ने छौं” भण्डारीले भने । उनलका अनुसार नेपाल आमाको प्रतिमामा हिमाल पाहाड तराईवासीको भेषभुषा झल्कने गरी बनाइने छ । यसै गरी अन्य अन्य राष्ट्रिय बिभुतीहरुको प्रतिमा पनि राखिनेछ ।
एक स्थानीय तह एक बाल उद्यान नीति अनुसार यो पार्क निर्माण गर्न लागिएको हो । हालसम्म पार्क निर्माणको लागि गत आर्थिक वर्षमा ४५ लाख र चालु आर्थिक वर्षमा ३२ लाख खर्च भैसकेको छ । पार्क निर्माणको लागि बागमती प्रदेश सरकारले सबैभन्दा बढी लगानी गरेको छ । हेटौंडा उपमहानगरपालिका, ९ नम्बर वडाबाट पनि बजेट लगानी गरिएको भण्डारीले बताए । पार्कमा आन्तरीक तथा बाह्य रुपमा पिकनिक खाने रमाइलो गर्नको लागि स्पोट पनि तयारी रहेको छ ।

पार्क भित्र मानव सेवा आश्रमले गुलाब बगैँचा निर्माण गर्दै छ, जहाँ संसारमा पाइने सबै प्रजातिको गुलाबका फूलहरु फुल्नेछन् । वनस्पति कार्यालय हेटौंडा, सियान पुनस्र्थापना केन्द्र, गोर्खा लहरीले निश्चित स्थान लिएर आकर्षक व्यवस्थापन गर्ने काम जारी छ । “अहिले पनि मर्निङ वाक गर्न आउने आनन्द अनुभुति गर्छन” उनले भने । झाडीको रुपमा रहेको यो स्थानमा कोरोना महामारीको पहिलो लरहमा श्रममा आधारीत राहत वितरण कार्यक्रम गरेर झाडी हटाइएको थियो ।
खोलाको बगर भएकोले बिरुवा हुर्कने माटो भर्न समय लागेको उनले बताए । “बिरुवा हुर्काउन माटोकै अभाव छ, हामी आत्तिएका छैनौ, पानीको पूर्ण व्यवस्था भएकोले पनि अब धेरै समय लाग्दैन” उनले भने ।

“वर्षायाममा गाउँ नै बगाउला जस्तो गरी आउने खहरे खोलाको बगरमा पार्क बनाउने सपना देखेकै थिएनौ” स्थानीय आरबी पौडेलल भने “इच्छा भयो भने सकिने रहेछ ।” खोलाले बस्ती कटान गरेर आजित थियौ, तारबेर गरेर विस्तारै व्यवस्थित गर्दै थियौ अब त पर्यटकीय क्षेत्र बन्यो उनले भने ।
कोरोनाको समयमा दैनिक ३० जनाका दरले भौतिक दुरी कायम गर्दै काम गरिएको उनले सुनाए । झाडी सफा गर्न झण्डै २ सय जनाले श्रमदान गरेको बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेले बताए । त्यस लगतै लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएका उनले बताए ।
भण्डारीले जहाँ हात हाल्छन्, त्यहाँ उदाहरणीय व्यवस्थापन गर्दछन् । उनले व्यवस्थापन गरेको बेतखोल्सी सावउस र यसै बाल उद्यानसंगै जोडिएको प्राथमिक बिद्यालय सुधार पनि उत्कृष्ट /उदाहरणीय छ।